News Desk
टोकियो — २७ श्रावण २०७८
टोकियो, जापानका प्रधानमन्त्री प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरस महामारीको कठिनाइबीच देशमा सुरक्षित तबरबाट ओलम्पिक आयोजना गर्न सहयोग गर्ने आफ्ना नागरिकलाई धन्यवाद दिएका छन् ।महामारीकै कारण खेलकुद महामेला आयोजना एक वर्ष सारिएको र केही प्रतिबन्धको व्यवस्था गरी प्रतियोगिता आयोजना गर्नुपरेको उनले बताए । ‘तर आयोजक राष्ट्रको हैसियतमा हामी हाम्रो जिम्मेबारी पूरा गर्न सक्षम रह्यौं,’ सुगाले भने ।१७ दिन चलेको ३२ औं ग्रीष्मकालीन ओलम्पिक लगभग दर्शकरहित आयोजना भएको थियो । खेलाडीहरू ‘आइसोलेसन बबल’ मा रहन बाध्य थिए । उनीहरूले प्रतियोगितामा आफ्नो खेलका क्रममा मात्र मास्क खोल्न पाउँथे भने आफ्नो स्पर्धा सकिएपछि तुरुन्तै जापान छाड्नुपर्ने हुन्थ्यो ।
तर खेलहरू दृढतापूर्वक सम्पन्न भयो । महामारीबीच भएको प्रतियोगिताले खेलाडीमात्र होइन समग्र विश्व खेलजगत नै अनुग्रहित रह्यो । प्रधानमन्त्री सुगाले देशका खेलाडीले कीर्तिमानी ५८ पदक जितेकामा प्रशंसा गर्दै भने, ‘केहीले पदक जिते, केहीले सकेनन् । तर उनीहरू सबैले आफ्नो प्रदर्शनमा कुनै कमी राखेका थिएनन् ।’जापानी सहर नागासाकीमा अमेरिकी परमाणु बमबारीको ७६ औं वर्षगाँठको कार्यक्रममा सोमबार पनि सुगाले ओलम्पिकबारे कुराकानी गरेका थिए । महामारीका क्रममा ओलम्पिक आयोजना गराएको भन्दै सुगाको आलोचना भएको थियो । जापानी जनता यो समयमा प्रतियोगिता आयोजना नहोस् भन्ने चाहन्थे ।
उता वासिङ्टनबाट अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानको सफल आतिथ्यताका लागि सुगाको सराहना गरे । ह्वाइटहाउसका अनुसार बाइडेनले जापानी प्रधानमन्त्री सुगासँगको टेलिफोन संवादमा आसन्न पाराओलम्पिक आयोजनाका लागि शुभकामना व्यक्त गरेका छन् । ओलम्पिककै जस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी पाराओलम्पिक खेलकुद अगस्ट २४ देखि टोकियोमा सुरु हुँदै छ ।कोरोना संक्रमणबाट जापानमा अहिलेसम्म १० लाखभन्दा बढी संक्रमित भएका छन् भने १५ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
अन्य देशको तुलनामा यो आँकडा कम भए पनि पछिल्लो संक्रामक डेल्टा भेरियन्टले संक्रमण तीव्र रूपमा फैलाइरहेको छ ।ओलम्पिकको समयमा जापानमा कोरोना संक्रमणको संख्या अन्य समयभन्दा झन्डै दोब्बर बढिरहेको थियो । सोमबारमात्र २ हजार ८ सय ८४ नयाँ संक्रमित देखिएका थिए । टोकियोका अस्पतालमा गम्भीर बिरामीको संख्या बढ्न थालेको छ । १८ हजारभन्दा बढी जनता घरमै आइसोलेसनमा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
(कान्तिपुर दैनिक)