News Desk
बुटवल — लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल अगाडि बढाइएको छ । केही बेरअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिए पनि प्रदेश प्रमुख कार्यालयबाट पत्र नआएकाले नियमित प्रक्रिया अघि बढाइएको सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभालाई जानकारी दिए ।प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका थिए । अहिले विपक्षी दलका नेताहरुले उक्त प्रस्तावमाथि बोलिरहेका छन् । प्रदेशसभामा एमालेका सांसद भने उपस्थित छैनन् । मुख्यमन्त्रीले समेत सम्बोधन गर्ने कार्यक्रम रहेकाले प्रदेशसभा बैठक २ : ४५ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख घर्तीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिए पनि प्रदेशसभामा जानकारी नभएकाले विशेष अधिवेशनको पूर्वनिरर्धारित तालिकाअनुसार अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको बताए । प्रदेश प्रमुखले पहिल्यै नै मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलका लागि समय र मिति नै तोकेर विशेष अधिवेशन डाकेकाले नियमित प्रक्रियाका रुपमा निरन्तरता दिइएको उनले बताए ।संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिएका हुन् ।
सरकार अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेशप्रमुख शेरचनले बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।प्रदेशप्रमुख शेरचनले संविधानविपरीत विशेष अधिवेशन आह्वान गरेको भन्दै प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले अधिवेशन फिर्ताको माग राखी सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका छन् । मंगलबार हेर्न नभ्याइनेमा परेको उक्त रिट बुधबार पनि पेसीको आठौं नम्बरमा रहेकाले अधिवेशन स्थगित हुने सम्भावना नदेखेपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् । यसअघि पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै कारबाहीमा परेका जसपाका तीन मन्त्रीमध्ये भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेयले पनि मंगलबार बेलुकी राजीनामा दिएका थिए ।
(कान्तिपुर दैनिक)