News Desk
पर्सा — दुई पटक लकडाउन र निषेधाज्ञा भए पनि इन्धन आयात बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा वीरगन्ज नाकाबाट हवाई इन्धन र एलपी ग्यासबाहेक सबैखाले इन्धनको आयात बढेको हो ।वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार गत आवमा हाइस्पिड डिजेल १६ प्रतिशत, पेट्रोल ६ प्रतिशत र मट्टीतेल आयात १० प्रतिशतले बढेको छ । हवाई इन्धन ५१ प्रतिशत र एलपी ग्यासको आयात ३ प्रतिशतले घटेको छ । डिजेलको ठूलो हिस्सा पेट्रोलियम पाइप लाइनबाट आयात हुने गरेको छ ।
गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै ६४ अर्ब ६० करोड ५४ लाख ६७ हजार रुपैयाँ बराबरको ११ लाख ८९ हजार ७ सय ७३ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ । जसबाट ४० अर्ब ५८ करोड ७ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा ५८ अर्ब २३ करोड ४ लाख ८३ हजार रुपैयाँ बराबरको १० लाख २३ हजार ५ सय ९४ किलोलिटर हाइस्पिड डिजेल आयात भएको थियो । जसबाट २२ अर्ब ७८ करोड २५ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
त्यसैगरी, सोही अवधिमा १७ अर्ब ८४ करोड २६ लाख २५ हजार रुपैयाँ बराबरको ३ लाख २८ हजार ९ सय ५२ किलोलिटर पेट्रोल यो नाकाबाट आयात भएको छ । जसबाट १६ अर्ब ८९ करोड ४ लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा यो नाका हुँदै १७ अर्ब २४ करोड १३ लाख ९९ हजार रुपैयाँ बराबरको ३ लाख ११ हजार १ सय ३७ किलोलिटर पेट्रोल आयात हुँदा ११ अर्ब ५९ करोड ७७ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत आवमा यो नाका हुँदै ६० करोड ५ लाख २ हजार रुपैयाँ बराबरको १२ हजार २ सय किलोलिटर मट्टीतेल आयात भएको छ । जसबाट १४ करोड ६४ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा यो नाका हुँदै ६८ करोड ६९ लाख २६ हजार रुपैयाँ बराबरको ११ हजार १ सय २४ किलोलिटर मट्टीतेल आयात भएको थियो । जसबाट ३० करोड ६ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।उक्त अवधिमा १९ अर्ब ८१ करोड २८ लाख २७ हजार रुपैयाँ बराबरको २५ करोड ९२ लाख १६ हजार ७ सय ३५ किलो एलपी ग्यास आयात हुँदा ३ अर्ब ६९ करोड ५७ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा १८ अर्ब ३९ करोड २० लाख १९ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।
हवाई इन्धनको आयात आधाले घटेको छ । गत आवमा यो नाका हुँदै २ अर्ब ९८ करोड ५० लाख २८ हजार रुपैयाँ बराबरको ६० हजार २ सय ८ किलोलिटर हवाई इन्धन आयात भएको छ । जसबाट ३ करोड १६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा यो नाका हुँदै ७ अर्ब ७७ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १ लाख २२ हजार ५ सय ३६ किलोलिटर हवाई इन्धन आयात भएको थियो । जसबाट ८३ करोड २४ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
यसरी गत आवमा यो नाका हुँदै एक खर्ब रुपैयाँ बढीको इन्धन मात्र आयात भएको छ । समग्रमा गत आर्थिक वर्षमा वीरगन्ज भन्सार कार्यालयले संकलन गरेको कुल राजस्वमा इन्धनको योगदान ३९ दशमलव ३८ प्रतिशत छ । त्यसपछि सवारीसाधन र अन्य वस्तुको राजस्वमा योगदान छ । वीरगन्ज नाका इन्धन भित्रिने मुलुककै मुख्य नाका हो । वीरगन्ज भन्सारका सूचना अधिकारी सुमित गुप्ताले लकडाउनमा हवाई सेवा ठप्प प्रायः रहेकाले हवाई इन्धनको आयात घटेको बताए ।त्यसैगरी कतिपय उद्योग बन्द रहेको तथा राजधानीका सफा टेम्पो आदि पनि नचलेकाले एलपी ग्यासको माग केही कम हुन गएको उनको भनाइ छ । यात्रु वाहक सवारीसाधनबाहेक डिजेल, पेट्रोल आदि इन्धन प्रयोग हुने सबैखाले सवारीसाधन भने धेरैजसो वर्षैंभरि सञ्चालनमै रहेकाले यी इन्धनको आयात पूर्ववत् रूपमै भएको उनले बताए ।
(कान्तिपुर दैनिक)