नुनमा कालोबजारी गर्ने दुगड माथि कारबाहीको माग राख्दै प्रधानमन्त्री कार्यालय पुग्यो राष्ट्रिय उपभोक्ता मञ्च (उजुरीसहित)
News Desk
Aug-12 , 2021 तारिख 08:50 बिहान

काठमाडौं - पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार तथा पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई कारबाही माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ । दुगड सञ्चालक रहेको कम्पनी दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस मोरङले नेपाली बजारमा नुनको अवैध कारोबार गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी दर्ता गराएको हो । उजुरीमा दूगडको व्यवसायलाई साथ दिएर कारबाही नगर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका अधिकारीलाई पनि कारबाहीको माग गरिएको छ ।

नेपालमा नुन बिक्रीको लागि अनुमति नै नपाएको दुगडको कम्पनीले सेन्चुरी स्प्रींकल टेवल साल्टका नाममा आयोडिनयुक्त नून बिक्री गरेको मञ्चले जनाएको छ । उक्त कम्पनीले एक सय ग्राम नुनलाई ३५ रुपैयाँमा बिक्री गरेको पनि मञ्चले उजुरीमा उल्लेख गरेको छ । खाद्य गुणस्तर नियन्त्रण कार्यालयबाट अनुमति नलिई नून उत्पादन गरेर बजार पठाइएको पनि मञ्चको दाबी छ । 

नेपालमा आयोडिनयुक्त नूनको उत्पादन, भण्डारण तथा बिक्रि बितरणको लागी सरकारले साल्ट ट्रेडिंग कर्पोरेशनलाई मात्रै अधिकार दिएकोमा तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्ति राज्य मन्त्री दुगडले प्रचलित नियम कानूनको उल्लंघन गरेको उजुरीमा भनिएको छ । ‘अवैध नूनबारे गत वर्ष असोजमा तत्कालिन प्रधानमन्त्रीलाई जानकारी गराए पनि करिव ११ महिनासम्म कुनै कारबाही भएन, वर्तमान सरकारको ध्यान पुगोस्,’ मञ्चको उजुरीमा भनिएको छ । 

असोजमा दुगड ग्रुपको टंकी सिनाबारी मोरङमा रहेको दुगड स्पाइस एण्ड फुड प्रालिले नुनमा कालोबजारी गरेको र उक्त कम्पनीको सञ्चालक उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल रहेको भन्दै मन्त्री दुगडलाई कारवाही गर्न राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले दुगड ग्रुपले टेवल साल्ट प्याकिङ गर्न अनुमति नलिएको र टेबल साल्ट प्याक गर्ने करिव ३ हजार खाली बट्टा दुगडको कारखानामा पाइएको तर आयोडाइज्ड साल्ट नपाएको पुष्टि गरेपछि त्यसका सञ्चालक पूर्वमन्त्री दुगडलाई कारवाही गर्नुपर्ने माग मञ्च लगायतका  उपभोक्ताबादी संघ संस्थाहरुले राख्दै आएका छन् ।  यस विषयमा राष्ट्रिय उपभोक्ता मञ्चले आफनो अडानमा अविचलित रहदै  उपभोक्ता हितका लागि आवाज उठाउँदे आएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जनाए । दुगडले कृत्य गरेकाले कानुनी राज्यको प्रत्याभुत गर्न पनि उनी माथि कार्वाही हुनुपर्ने धारणा राख्दै उनले भने 'कालोबजारी गर्ने छुट यहाँ कसैलाइृ छैन, शक्तिको आडमा मनपरी गर्ने, उपभोक्ताको स्वास्थ्य माथि खेलबाड हुदाँ हामी टुलुटुलु हेरेर बस्दैनौ,  त्यस्ता उपर हदैसम्मको कार्वाही हुनुपर्छ' ।