अमर्यादित शब्दलाई रेकर्डबाट हटाउन सभामुखको निर्देशन
News Desk
Aug-13 , 2021 तारिख 02:57 बेलुका

काठमाडौँ — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बालेको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

हिजोको बैठकमा विशेष समयमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद मातृकाप्रसाद यादवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ‘मेन्टल्ली र फिजिकल्ली’ अस्वस्थ भएकाले नै मुलुकलाई दुर्घटना तर्फ उन्मुख गराएको आरोप लगाएका थिए ।पूर्वमन्त्री समेत रहेका यादवले बोल्ने वित्तिकै प्रमुख सचेतक भट्टराईले हिजोको बैठकमा पनि नियमापत्ति गर्दै उक्त शब्दावलीलाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुले आसन ग्रहण नगरी उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले प्रमुख सचेतक भट्टराईलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए । 

(कान्तिपुर दैनिक)