मणिपालको कर नयाँ व्यवस्थापनले तिर्ने
News Desk
Aug-27 , 2021 तारिख 01:17 बेलुका

पोखरा — ११ भाद्र २०७८ 

पोखरा, भारतीय लगानीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल स्थानीय व्यवसायीले ३ अर्ब २५ करोड रुपैयाँमा किनेका छन् । व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज ग्रुपले अस्पताल खरिद गरेका हुन् । नक्सा पास नगरी २७ वर्षदेखि सञ्चालन भइरहेको अस्पतालको नक्सा पास शुल्क र बक्यौता सम्पत्ति कर नयाँ व्यवस्थापनले तिर्ने भएको छ ।मणिपालले हाल पोखरा महानगरलाई बुझाउनुपर्ने नक्सा पास शुल्क, सम्पत्ति करलगायत अन्य दायित्व गरी ९७ करोड ६० लाख रुपैयाँ तिर्न बाँकी छ । उक्त रकम नयाँ व्यवस्थापनले तिर्ने गरी शुक्रबार भर्चुअल माध्यमबाट सेयर खरिद सम्झौता (एसपीए) हुने व्यवसायी पौडेलले जानकारी दिए । मेडिकल कलेज र अस्पतालको कुल मूल्यांकन भने २ अर्ब २५ करोड रुपैयाँ भएको उनको भनाइ छ । अस्पतालमा बतासको ६० प्रतिशत र पौडेलको ४० प्रतिशत लगानी रहनेछ । अस्पतालको अध्यक्षमा आनन्दराज बतास र उपाध्यक्ष पौडेल रहनेछन् । बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास तथा निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्य रहनेछन् ।

‘अब नक्सा पाससहित सम्पूर्ण बक्यौता कर तिर्ने दायित्व हामीले सकारेका छौं,’ पौडेलले भने, ‘पोखरालाई मेडिकल शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन पनि यो निर्णयले योगदान पुर्‍याउने हामीले विश्वास लिएका छौं ।’ नयाँ व्यवस्थापनबाट अस्पताल सञ्चालनमा आएसँगै थप सेवा सुविधा विस्तार गरेपछि गण्डकी प्रदेशका बिरामी उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने उनको विश्वास छ । मेडिकल कलेजमा प्यारामेडिकल कोर्स, बीबीए तथा एमबीए एन्ड इन्जिनियरिङ र बीडीएसका कक्षा सुरु गर्ने यो समूहको योजना छ । नसा तथा मुटु रोगसम्बन्धी उपचारका लागि लगानी थप गरी विशिष्ट सेवा दिने नयाँ व्यवस्थापनको तयारी छ । सर्वसाधारणले सेयर हाल्न मिल्ने गरी पब्लिक लिमिटेड कम्पनीका रूपमा लैजाने लगानीकर्ताको तयारी छ ।निजी तथा बाह्य लगानीको पहिलो मेडिकल कलेजका रूपमा सन् १९९४ देखि मणिपाल सञ्चालनमा आएको थियो । त्यसको दुई वर्षअघि १८ अक्टोबर १९९२ मा भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप र नेपाल सरकारबीच ४९ वर्षसम्म मेडिकल कलेज सञ्चालन गर्ने र त्यसपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको थियो । सन् १९९८ मा ७ सय ५० बेडको अस्पताल स्थापना भयो । मेडिकल कलेज सञ्चालनमा आएको २७ वर्ष भइसकेको छ । हाल ९ सय बेडको यो अस्पताल प्रदेशकै ठूलो निजी अस्पताल हो ।

 

मणिपाल कलेज अफ मेडिकल साइन्सेस (एमकम्स) अन्तर्गत दुई कलेज पोखरा–११ फूलबारी र पोखरा–१६ दीपमा सञ्चालनमा छन् । मणिपालले हाल एमबीबीएसमा वार्षिक १ सय जना विद्यार्थी भर्ना लिँदै आएको छ । एमडी/एमएस र नर्सिङ कलेज मणिपालले सञ्चालन गरेको छ । मेडिकल कलेजको मुख्य संरचना रहेको ४० रोपनी जग्गा मणिपालकै नाममा छ भने बाँकी १ सय ६० रोपनी नेपाल सरकारसँग भाडामा लिएको हो । मणिपालको भवनको बिल्टअप एरिया १० लाख वर्गफिट छ । अस्पतालमा १ हजार १ सय कर्मचारी कार्यरत छन् ।महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदनअनुसार नक्सा पास शुल्क र वातावरण शुल्कबापत मणिपालले २१ करोड ७० लाख रुपैयाँ पोखरा महानगरलाई बुझाउन बाँकी छ । वार्षिक सम्पत्ति करबापत पनि मणिपालले करोडौं रुपैयाँ महानगरलाई बुझाएको छैन ।   

 ( कान्तिपुर दैनिक )