मैत्रीपूर्णभन्दा माथिको खेल
News Desk
Sep-05 , 2021 तारिख 11:29 बिहान

काठमाडौँ — २० भाद्र २०७८  

काठमाडौँ, नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा अहिलेसम्म सेमिफाइनल पार गरेको छैन । छिमेकी भारतको भने सबैभन्दा फितलो प्रदर्शन नै सेमिफाइनलमा रोकिनु हो, जुन एकपल्ट भएको थियो । फाइनलमा तीनपल्टमात्रै चुकेको भारत दक्षिण एसियाकै सर्वाधिक सफल टिम हो । यस क्षेत्रको महारथी नै हो भारत । तैपनि उसलाई बारम्बार नेपालले टक्कर दिने गरेको छ । फुटबलमा नेपाल र भारतको प्रतिस्पर्धा भनेपछि जोस नै अर्कै हुन्छ । खेलको रौनक, रोमाञ्च, आकर्षण नै विल्कुलै फरक हुन्छ । सीमावर्ती क्षेत्रमा भारतको हेपाह प्रवृत्ति र अनाहकमा लगाइएको नाकाबन्दीको कारण आमनेपालीमा भारतविरोधी मानसिकता बढिरहेको छ । यसले पनि यी दुई देशका टिमको फुटबल मैदानको प्रतिस्पर्धाले ध्यान खिच्न मलजल गरेको छ । आमनेपाली आफ्नो टिमले मैदानमा भारतलाई पराजित गरेको हेर्न चाहन्छन् । भारत पनि के कम ? आफ्नो प्रभुत्व कायमै राख्न चाहन्छ ।

त्यसैले त कुनै प्रतियोगिताको तयारी वा खाली समयमा हुने मैत्रीपूर्ण खेल पनि त्योभन्दा माथिल्लो स्तरकै हुने गर्छ । एउटा प्रयोगात्मक अभ्यासको प्रतिस्पर्धाको नतिजालाई दुवै टिम आफ्नो पक्षमा पार्न चाहन्छन् । अर्थात्, खेल मैत्रीपूर्णभन्दा माथिकै हुन्छ । कुनै प्रतियोगिताको जम्काभेटजस्तै हुने गर्छ । यसनिम्ति दशरथ रंगशालामा भएको बिहीबारको खेल विश्लेषण गर्दा छर्लंगै हुन्छ । विशषगरी दोस्रो हाफको प्रदर्शन कुनै प्रतियोगिताको नकआउटको प्रतिस्पर्धाभन्दा कम थिएन । त्यो हाफ भारतले राम्रो खेल्यो । अन्त्यतिर नेपाली खेलाडीहरू केही थाकेजस्ता देखिन्थे । तर पाहुना टिमका खेलाडीलाई रोक्न कुनै कसर बाँकी राखेका थिएनन् । उदाहरणका लागि कप्तान/गोलकिपर किरण चेम्जोङले पेनाल्टी क्षेत्रबाहिरै बल हातले रोकेको दृश्य पर्याप्त छ । विपक्षीलाई रोक्ने प्रयासमा गरिने ‘फाउल’ त सामान्य भइहाले । यसपालिको साफ २०२१ अक्टोबर १–१६ मा माल्दिभ्समा हुँदै छ । यसैको तयारीमा नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय टिम काठमाडौं आएको हो ।

 

यो यात्रामा भारतको अर्को स्वार्थ पनि छ, नेपाललाई पराजित गरेर फिफा वरीयतामा माथि उक्लिँदै एसियन कप २०२३ छनोटको तेस्रो चरण ‘ड्र’ को ‘पट १’ मा पर्ने । अक्टोबरको वरीयताले छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने २४ टिमको वरीयता निर्धारण गर्छ । नेपाललाई हराएर वरीयता अधिकतम अंक बटुल्दै छनोट टिममध्ये शीर्ष ६ मा रहने भारतको दाउ हो । तर क्रोएसियन प्रशिक्षक इगोर स्टिमेकलाई सजिलो छैन भन्ने बिहीबार १–१ मा टुंगिएको खेलले पनि देखाइदियो । नेपालको योजना पनि साफ तयारीमात्रै होइन, वरीयता सुधार गर्ने हो । भारतविरुद्धका मैत्रीपूर्ण दुई खेल र मालेमा हुने साफ च्याम्पियनससिपमा पर्याप्त अंक बटुल्न सके नेपालले पनि वरीयतामा फड्को मार्न सक्छ, जसले एसियन छनोटमा कमजोर टिमहरू रहने ‘पट ४’ बाट उकास्न सक्छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रस्टै भनिसकेका छन् कि भारतविरुरद्ध जित्नैका लागि खेल्नेछौं । यसमा नेपाललाई पनि सजिलो छैन । किनभने भारतविरुद्धको खेल प्रतिष्ठाको लडाइँमात्रै होइन, राष्ट्रभक्ति देखाउने अवसर पनि हो । त्यसैले यो ठूलो छिमेकी देशविरुद्धको फुटबल मैत्रीपूर्णभन्दा माथिकै हुने गर्छ ।

 

नेपालले बिहीबार अञ्जन विष्टले ३६ औं मिनेटमा अग्रता लिए पनि अनिरुद्ध थापाको गोलमा भारतले ६० औं मिनेटमा बराबरी गरेको थियो । भारतीय डिफेन्डर सिङ्लेनसाना सिंहको ‘ब्याकपास’ अञ्जनलाई उपहार नभएको भए खेलको कथा अर्कै हुनसक्थ्यो । किनभने दोस्रो हाफमा भारतको प्रदर्शन उत्कृष्ट थियो । कप्तान सुनील क्षेत्री दशरथ रंगशालामा आठौं खेलसम्मै गोलविहीन भए पनि उनको प्रहारमा किरणले रोकेको बलमा अनिरुद्ध बराबरी गरेका थिए । त्यो ‘मुभ’ पेनाल्टी क्षेत्रमा दिनेश राजवंशीभन्दा पछाडि रहेका उनले जसरी बल पछ्याए, त्यसैको मिहिनेत थियो बराबरी गोल । दिनेश वा किरण अलि चनाखो भएको भए त्यो गोल नहुन सक्थ्यो । सुनील बाहिरिएपछि अर्का फरवार्ड मनवीर सिंहले बारम्बार नेपाली डिफेन्सलाई चिरेका थिए ।

भारतले ‘गेम चेन्जर’ अनिरुद्धसहित चार खेलाडीलाई मैदानमा उतारेसँगै आक्रामक रूप लिएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका डिफेन्ड सेरिटन फर्नान्डेज र रहिम अली पनि थिए । अली त दोस्रो हाफमात्रै खेलेर म्यान अफ द म्याच भए । नेपाली मिडफिल्डर नितिन थापाले पनि डेब्यु गरे । नेपालले छोटा–छोटा पासमा केही सुधार गरेको देखियो । तर ती सुधार माथिल्लो स्तरमा टिमविरुद्ध प्रतिस्पर्धा गर्न पर्याप्त छैन । नेपालले गोलको स्पष्ट अवसर सिर्जना गर्न नसक्दा स्टिमेकले भनेजस्तै भारत जितको हकदार थियो । आफ्नै गल्तीको मूल्य उसले चुकाउनुपर्‍यो । एउटा प्राविधिक कर्मचारीको हैसियतमा रहेका प्रशिक्षक अब्दुल्लाह सामाजिक सञ्जालमा ‘राजनीतिक चरित्र’ मा देखिएका छन् । पछिल्लोपल्ट उनको चर्चा राष्ट्रिय टिमको जिम्मेवारीभन्दा बढी फेसबुक स्टाटसको कारण भइरहेको छ । आलोचकलाई चुप लगाउन उनी भारतमाथि आफ्नो टिमको जित चाहन्छन् । यसले केही हदसम्म मैदानबाहिरको आलोचना मत्थर पान सक्छ । तर, यसनिम्ति आईएसएलका खेलाडीले भरिएको टिमलाई पराजित गर्नैपर्छ ।

नेपाली मूलका आईएसएल स्टार अनिरुद्धले बिहीबार दोस्रो हाफमा गरेको प्रदर्शनलाई आइतबार सुरुबाटै निरन्तरता दिन चाहेको बताएका छन् । गोलकिपर गुरप्रित सिंह सन्धुले पनि नेपाली टिम संगठित रहेको र प्रतिस्पर्धा गर्न कठिन भएको प्रतिक्रिया दिएका छन् । प्रशिक्षक स्टिमेकको भनाइ उद्धृत गर्दै एआईएफएफले लेखेको छ, ‘पक्कै पनि हामीसँग अझै ऊर्जाको कमी छ । तयारी दोस्रो सातामात्रै हुँदै छ । खुट्टाहरू अझै भारी छन् । तर, राम्रो प्रदर्शन गर्नेछौं । केही परिवर्तन गर्नेछौं, जसले पासमा सहयोग गर्न सक्छ, थप आत्मविश्वासी बनाउन सक्छ, सजिलो पार्न सक्छ ।’ स्टिमेकको टिमलाई रोक्ने मात्रै होइन, नेपाली खेलाडीले अब्दुल्लाहले एन्फामा गरेको उद्घोषजस्तै वरीयतामा ६३ स्थानमाथिको टिमविरुद्ध नडराईकन आक्रामक रणनीतिमा खेल्न आवश्यक छ । पहिलोपल्ट साफ च्याम्पियनसिप जित्ने हो भने अझ धेरै सुधार गर्नुपर्ने देखिएको छ । अब्दुल्लाहले पनि दोस्रो खेलमा कमजोरी सच्याउने र नयाँ खेलाडीलाई अवसर दिने बताएका छन् ।     

( कान्तिपुर दैनिक )