आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा
News Desk
Apr-28 , 2020 तारिख 07:06 बिहान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी  भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । साथै, बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकोले यसको समेत प्रभाव रहेको छ । 

महाशाखाका अनुसार हाल देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्यका पहाडी भूभागमा सामान्य बदली भई एक÷दुई स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानले आज दिउँसो देशभर सामान्य बदली रही धेरै  स्थानहरुमा   मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

यसैगरी, राति देशभर सामान्य बदली रही मध्य र पूर्वका केही  स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

महाशाखाले देशका  धेरै  स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग  र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

धेरै पढिएको