उम्लिङमा हत्या भएका ६ जनाको सामूहिक अन्त्येष्टि
News Desk
Sep-09 , 2021 तारिख 01:24 बिहान

संखुवासभा - मादी नगरपालिका १ उम्लिङमा हत्या भएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम सकेर ६ जनाकै शव अन्त्येष्टि गरिएको मृतकका आफन्त बिक्रमकुमार कार्कीले जानकारी दिए । 

शव इटहरीस्थित बुढीगंगास्थित मुक्तिघाटमा अन्त्येष्टि गरिएको उनले बताए ।

मृतक तेजबहादुरका छोरा नरेश दुबईबाट बुधबार फर्किएका थिए । उनी कान्छो छोरा हुन् । जेठा छोरा रमेश भने मलेसियामा छन् ।

सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको शव फेला परेको थियो । तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृत अवस्थामा फेला परेका थिए ।

तर अहिलेसम्म कसले र किन हत्या गरेको हो भन्ने खुलिसकेको छैन । संघीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली अनुसन्धानमा खटिएका छन् ।

साथै प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी घटनास्थल तर्फ गएका छन् ।