पारसको सम्मानमा अमेरिकामा क्रिकेट
News Desk
Sep-10 , 2021 तारिख 12:09 बेलुका

काठमाडौँ — २५ भाद्र २०७८   

काठमाडौँ , नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काप्रति समर्पित अमेरिकाको बाल्टिमोरमा साथी कप क्रिकेट प्रतियोगिता गरिएको छ । पारसले नेपाली क्रिकेटलाई दिएको योगदानस्वरुप साथी कप गरिएको प्रतियोगिताका निर्देशक उत्सव सिग्देलले बताए । एभरेस्ट लायन्स क्लब भर्जिनियाले फाइनलमा मेरिल्यान्ड क्रेब्सलाई ५३ रनले पराजित गरेर कप जित्यो । राहुल ठाकुरको ६१ र अर्जुन खड्काको २८ रनमा एभरेस्टले २० ओभरमा ७ विकेट गुमाई १ सय १५ रन बनायो । जवाफमा मेरिल्यान्ड पूरा २० ओभर खेलेर ६२ रनमै अलआउट भयो । निर्मल तामाङले २४ र इजन श्रेष्ठले १३ रनबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

विजेता एभरेस्टले २ हजार ५ सय र उपविजेता मेरिल्यान्डले १ हजार ५ सय अमेरिकी डलर पुरस्कार पाए । प्रतियोगितामा डीएमभी अल स्टार्स, एभरेस्ट, फार वेस्टर्न क्रिकेट क्लब, मेरिल्यान्ड, साथी बाल्टिमोर क्रिकेट क्लब ए र बी सहभागी थिए । मेरिल्यान्ड राज्यका संसद डा. जय जलिसीले सहभागी सम्पूर्ण टिमलाई मेरिल्यान्ड राज्यको तर्फबाट सम्मान प्रदान गरे । समापनमा मेरिल्यान्ड राज्यका संसद हरि भण्डारी, कार्ल ज्याक्सन, पेरिहल काउन्सिलम्यान डेविड मार्कस, अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री राजु क्षेत्री, मेरिल्यान्ड एनआरएन अध्यक्ष राजु पराजुली, वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्त, महासचिव प्रविन खड्का, समाजसेवी रमेश भट्टलगायत उपस्थित थिए ।   

 

( कान्तिपुर दैनिक )