बिर्सनलायक अभ्यास खेल
News Desk
Sep-28 , 2021 तारिख 11:42 बिहान

काठमाडौँ  — १३ असोज २०७८    

काठमाडौँ ,  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ओमानविरुद्धको अभ्यास खेललाई साफ च्याम्पियनसिप २०२१ अगाडिको सबैभन्दा अन्तिम र महत्त्वपूर्ण परीक्षा भनेका थिए । त्यही खेल नेपालका लागि बिर्सनलायक रह्यो । नेपाल आइतबारको अभ्यास खेलमा ओमानसँग ७–२ ले पराजित भएको हो । पहिलो हाफमा कम अनुभवी खेलाडी उतारेको ओमानले दोस्रो हाफमा भने अधिकांश पहिलो रोजाइका खेलाडी खेलाएको थियो । टोलीका लागि अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे ।     

नेपालका आयुश घलान र अनन्त तामाङले १–१ गोल गरे । ओमान फिफा वरीयताको ९० औं स्थानमा रहेको बलियो टिम हो । नेपालले पहिलो हाफमा राम्रो चुनौती पेस गरे पनि दोस्रो हाफ पूर्णतः ओमानको पक्षमा रह्यो । खेल कतारको दोहामा भएको थियो । नेपाली टिम सोमबार माल्दिभ्सको माले पुगिसकेको छ । नेपालले शुक्रबार साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सको सामना गर्दै छ ।    

( कान्तिपुर दैनिक )