कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा महिला : युएन वुमनद्वारा डा. रुना झाको प्रशंसा
News Desk
May-02 , 2020 तारिख 04:47 बेलुका

काठमाडौँ । कोरोनाभाइरसको महामारीसँग विश्वभरका महिलाहरुको जीवन परिवर्तन भएको छ । धेरैको काम र व्यक्तिगत जीवनमा ब्रेक लागेको छ । तर, यस्ता धेरै महिला छन् जसले थप चुनौति र जोखिमको सामना गर्नु परिरहेको छ ।यतिबेला विश्वभर लाखौँ महिला कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । ‘डे फर सेफ्टी एन्ड हेल्थ एट वर्क’ को अवसरमा संयुक्त राष्ट्र संघअन्तरगत रहेको युएन वुमनले कोरानाभाइरसबिरुद्ध फ्रन्टलाइनमा काम गर्ने लाखौँ महिलामध्ये पाँच जनाको कथा प्रकाशित गरेको छ । यसमा नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झाको कथा समेत समावेश छ । उनीसँगै चीनकी यान सेङलियान, जोर्डनकी अमाल अल महायरा र हदिल दबाइबेह, कजाकिस्तानकी डिना स्माइलोभा र एन्टीगुआकी रायान्सिया हेनरीको प्रेरक कथा प्रस्तुत गरिएको छ ।

डा. झा र उनको टोलीले दैनिक रुपमा ७० वटा स्याम्पलको परीक्षण गरिरहेका छन् । एकै समयमा स्याम्पलहरु नआइपुग्ने हुँदा झा २४ सै घण्टा खटिरहेकी हुन्छिन् । ‘ल्याबमा ढिलासम्म बस्नु सामान्य भइसक्यो । प्राविधिक कामसँगै बन्दोबस्तीको सामान जस्तै मेरो टीमका लागि गाडी र खानाको व्यवस्था आदिको व्यवस्थापन गर्नुपर्छ,’ उनले भनिन् । आफ्नो टोलीको सुरक्षा झाका लागि पहिलो प्राथमिकता हो ।

गत मध्य फेब्रुअरीदेखि डा. झाको काम सुरु भएको थियो जब १७५ जना विद्यार्थीलाई चीनको ऊहानबाट नेपाल ल्याइयो । उनीहरुलाई राखिएको क्वारेन्टाइनमा प्रवेश गर्ने झा कै टोली प्रथम थियो ।

‘मेरो टोलीले स्याम्पल लिन कुनै संकोच गरेन । सबै तयार थिए । हामीले दिन रात काम गरेर स्याम्पल लिएका थियौँ,’ उनले आफ्नो अनुभव साझा गरिन् ।

महामारी सुरु भए यता उनको कठीन काम जारी नै छ । उनले आफ्नो टोलीको हौसला बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । ‘यो हामी सबैको लागि कठिन समय हो । मैले सबैको हौसला बढाउनुपर्छ । मैले कोही निरास भएको अनुभव गरे भने म उनीहरुलाई भन्छु कि उनीहरुको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो ।’

यो काम झाको लागि पनि चुनौतिपूर्ण नै छ । सम्भावित संक्रमणबाट जोगाउनका लागि उनी अहिले छोरी र पतिभन्दा टाढा एक्लै बस्छिन् । यसअघि हप्ताको तीन पटक आफ्नो आमाबाबुलाई भेट्ने उनले त्यहाँ पनि जान पाएकी छैनन् ।

‘म मेरो छोरीलाई अँगालो हाल्न चाहन्छु र मेरो आमाबाबुको सेवा गर्न चाहन्छु । तर, अरुलाई सुरक्षित राख्न यो त्याग आवश्यक छ,’ झा भन्छिन् ।

धेरै पढिएको