News Desk
काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड तत्काल उपलब्ध गराउन नसकिने जानकारी गराएको छ । ्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड अपडेटमा आइतबार बोल्दै मन्त्रालयका परिवार कल्याण महाशाखा प्रमुख डा तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नरहेको बताए ।
फागुन २३ गतेपछि कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले तत्काल दोस्रो डोज लगाउने मिति नजिकिए पनि नपाउने उनले बताए । विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताएको छ । हालविभिन्न प्रयास गर्दासमेत उपलब्ध गराउन नसक्ने अवस्था देखिएको डा पोखरेलले बताए । ‘पहिलो डोज लगाएको अब करिब ११ हप्ता बितिसकेको छ,ु उनले भने, ुफागुन २३ भन्दा पछि खोप प्राप्त गर्नुहुने ज्येष्ठ नागरिक तथा अन्य नागरिकले खोप लगाउने मिति नजिकै आउँदा पनि तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध हुने सम्भावना नदेखिएको अवस्था छ ।’
सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोभिसिल्ड खोप लगाउन सुरु गरेसँग १४ जिल्लामा पनि ५५ वर्षका माथिका व्यक्तिलाई खोप लगाउन थालेको थियो ।
गत माघ १४ गते कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने घोषणा गरेका थिए । उनले ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्नेछौं । निःशुल्क बिनाभेद्भाव प्राथमिकताका आधारमा यो खोप उपलब्ध गराउनेछौं’। भनेका थिए ।