News Desk
काठमाडौं-नेपाल चिकित्सक संघलाई ताईवान स्थित सु ची फाउन्डेसनले ३० करोड बराबरको स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेको छ । सोमबार नेपाल चिकित्सक संघको सभा हलमा आयोजित एक कार्यक्रम माझ फाउन्डेसनका नेपाल प्रमुख मुकुन्द बिष्टले संघका अध्यक्ष डा. लोचन कार्कीलाई उक्त सामाग्री हस्ताण्तरण गरेका हुन । फाउण्डेसनद्वारा हस्ताण्तरित सामाग्रीमा अक्सिजन प्लान्ट ५ वटा, मोनिटर ४०थान , अक्सिजन कन्सनट्रेटर ५ सय ५ वटा , पिपिई २ हजार थान, भेन्टिलेटर १० वटा, मनिटर ४० वटा,सर्जिकल मास्क १६ हजार गोटा, ग्राउन ३ हजार गोटा, पञ्जा १४ हजार थान लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।
फाउण्डेसनद्वारा हस्ताण्तरित उक्त सामाग्रीहरु संघले नेपालका विभिन्न अस्पताल एवम् स्वास्थ्य संस्थालाई वितरण गर्नेछ ।
सो अवसरमा संघका अध्यक्ष डा. लोचन कार्कीले सो सामाग्री २ सय स्वास्थ्य संस्थामा वितरण गरिने बताउदै आम चिकित्सकको सुरक्षा एवं स्वास्थ्य क्षेत्रको उन्नयन र व्यवसायीक हितमा संघले काम गर्दै आएको स्पष्ट पारे ।
साथै उनले स्वास्थ्यकर्मीको सुरक्षा, उपचार र नागरिकको स्वास्थ्य सेवाको क्षेत्रमा संघले महत्वपूर्ण कार्य आएको विशेष प्रष्ट समेत पारे।’महामारीको सुरुवातदेखि नै संघको अग्रसरता र नेतृत्वमा आम चिकित्सक एवं विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ,’ डा. कार्कीले भने, ‘संघले यसबीच आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर, टेलिमेडिसिनदेखि आम चिकित्सक र स्वास्थ्यकर्मीका लागि विभिन्न तालिमसमेत संचालन दिँदै आएका छौं।’
सुची फाउन्डेसन प्रतिनिधि मुकुन्द विष्टले महामारीको प्रकोपको बेलामा फाउन्डेसनले विशेष सहयोग गर्दै आएको बताउदै विगत ९० को दशक देखी नेपालमा फाउण्डेसनले वार्षिक करोडौ सहयोग उपलब्ध गराउदै आएको जनाए । फाउण्डेसनले स्वास्थ्य, शिक्षा, वातावरणीय क्षेत्रमा विश्वभर १६२ देशमा सहयोग मुलक कार्यक्रम गर्दै आएको पनि उनले जानकारी दिए ।
संघका महासचिव डा. बद्रि रिजालले सामग्रीमार्फत् महामारीमा आम नागरिकको स्वास्थ्य सेवा सुनिश्तिता एवं सेवा प्रवाहमा स्वास्थ्यकर्मीलाई सहजता हुने उल्लेख गरे ।
यी सामग्री उपलब्ध गराएर सेवा प्रवाहमा उल्लेखनीय सहयोग पुर्याउने फाउन्डेसनप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्यको आशा रहेको डा. रिजालले बताए।