युद्धग्रस्त युक्रेन, रसियाको आक्रमण र ध्रुविकरण
News Desk
Feb-25 , 2022 तारिख 11:27 बिहान

डिएन घिसिङ

विश्वको ध्यान यतिबेला पुर्वी युरोपतर्फ मोडिएको छ । रसियाले युक्रेन माथि छेडेको युद्धका कारण विश्वको ध्यान त्यसतर्फ आकर्षित भएको हो । दोश्रो विश्वयुद्ध पछिको सबैभन्दा भयावह स्थिती कसैले झेल्नु परेको छ भने त्यो वर्तमानमा युक्रेनी जनताले सामना गर्दैछन्। लामो समय देखी रुससँगको खिचातानी पस्चात युक्रेन युद्ध कृडास्थलमा परिणत भएको छ।युक्रेनको राजधानी केयभ यतिबेला गोला बारुदले तहसनहस भएको छ।हजारौं मानिसहरु हताहातीभएका छन र गोला बारुदको धुवाँले शहर पुरै ढाकिएको छ। त्यहाँको स्थिती यतिसम्म कहाली लाग्दो बनेको छ कि, विश्व समुदाय नै स्तब्ध बन्न पुगेको छ । ठुलो संख्यामा मानविय र भौतिक क्षती हुने गरि रुसले जारी राखेको नरसंहारको विश्व समुदायले निन्दा र भर्त्सना गरेको छ ।वास्तवमा अहिले विश्व समुदायले यूक्रेन प्रति सहानुभुती प्रकट गर्दै आएका छन् ।

सार्वभौमसत्ता मुलुक युक्रेनले पश्चिममुलुकहरुको औद्योगिक नीति लगाएतमा सहमति जनाउदै आएपछी छिमेकी मुलुक रसीया रुष्ट बन्दै आएको थियो । स्वतन्त्र भुमीको रक्षार्थ भन्दै रसियाले युद्धको घोषणा मात्रै गरेन सामरिक अभ्यासको रणभुमीमा युक्रेनलाई परिणत गराएको छ । रुसी अधिकारीहरुले बचाउमा युद्ध अनिवार्यता नरहेको तर युक्रेनको शासकको अकर्मण्यता कारण यो बिडम्बना निम्तिएको तर्क राख्दै आएका छन् । अहिले युक्रेनीहरु कोही रसियाको पक्षमा त कोही अमेरिका लगायतका पश्चिमाको पक्षमा उभिएका छन्। अहिले युक्रेनी राष्ट्रियता कमजोर भई सकेको छ, जनमत ध्रुविकृत हुँदै युक्रेनी समाज नराम्रोसँग विभाजन भएको अन्तराष्ट्रिय रिपोर्टहरुमा सार्वजनिक भएका छन् ।

युक्रेन-रसियाको युद्धलाई लिएर पश्चिममा शक्तिले चासो मात्रै हैन रसियालाई अघोषित रुपमा नाकबन्दीको रणनीति पनि अगाडी सारेको छ।त्यसो त युक्रेनी सरकारले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)मा सामेल हुने इच्छाले पनि थप जटिलता भएको बुझाई रुसी समर्थकहरुको छ। युक्रेनी सरकारले यतिबेला जनताले चाहेमा हतियार दिन सक्ने र आफ्नो सेना रुसको फौजलाई प्रतिरक्षा र परास्त गर्न सक्ने दाबी समेत दिदै आएको छ । अन्तरदेशिय लडाइँमा मुलतःऔद्योगिक निति र भूगोलको बिषयलाई केन्द्रित गर्दै रुसले युद्धको हमला उदघोष गर्नु परेको रुसी अधेकारीहरुको भनाइ रहेको छ।

सन १९९१मा सोभियत गणराज्यबाट स्वतन्त्र भएयता युक्रेन अन्तर्राष्ट्रिय शक्तिको चक्रव्युहमा फसेको हो।सत्तागठबन्धनको रक्साकसीमा छिमेकी राष्ट्र रुसको प्रत्यक्ष वा अप्रत्यक्ष भुमिका सधै हस्तक्षेपकारी रह्यो । युक्रेनी नेताहरु अडानमा बस्न नसक्नुले नै विदेशी शक्ति चलखेलको पराकाष्ठा निम्तिएको भान हुन्छ। आन्तरिक राजनीतिको चरम संकटमा युक्रेन भास्सिएको छ।युक्रेनको कृमिया राज्यको निर्णय र त्यहाँ भएका हिंसात्मक द्वन्द्वले निम्त्याएको राजनीतिक घटनाक्रमले ठूलो उत्तर चढाब ल्याएको हो।रसियाले यस मामिलालाई नजिकबाट मात्रै हेरेन प्रत्यक्षरुपमा आफ्नो भुमिका देखाउदै सैनिक हस्तक्षेप समेत गर्‍यो ।

पहिले सोभियत संघको एउटै नक्सामा समेटिएका रसिया र युक्रेनबीच मनमुटाव हुनुको मुख्य कारणचाहिँ युक्रेनको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) सदस्यता नै मुल हो।उक्त संगठनमा ३० राष्ट्र सम्मिलित छन्।ती राष्ट्रहरुबीच कुनै पनि एक राष्ट्रलाई अन्य कुनै राष्ट्रले हमला वा थिचोमिचो गरे सबै मिलेर विरोधीविरूद्ध आक्रमण गर्ने समझदारी रहन्छ । युक्रेनको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) सदस्यता प्रस्ताव र युरोपेली मुलुकसँगको औद्योगिक नीतिमा अमेरिका र युरोपेली मुलुकहरुको समर्थन रहेको छ।यसर्थ पनि युक्रेनको निर्णयमा बहुराष्ट्रिय साथ रहने भएकाले युक्रेनी सरकार युद्ध प्रतिरक्षा गर्न तयार भएको हो।यता चीनले आफ्नो अभिमत रसीया तर्फ इङ्गित गर्दै नेटोको सेना रसिया र युक्रेनको सिमाना पठाए आफुहरु पछि नहट्ने तर्क दिएको छ ।

रुसले सोभियत संघबाट छुट्टीएका देशहरूलाई नाटोको सदस्य बन्न नदिन र नाटो गठबन्धनले पूर्वी युरोपमा हुने सबै सैन्य गतिविधि रोक्न गरेको आग्रहलाई बेवास्ता गर्दै अमेरिकाले धेरै पूर्वी देशहरूलाई युक्रेनलाई मद्दत गर्न त्यहाँ आफ्ना हतियार पठाउन अनुमति दिएसँग विश्व शक्ति ध्रुविकरणमा विभाजन भएको छ। युक्रेनमा जारी संकट समाधनका विषयमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ।रसियाले समस्या समाधनका लागि आशावादी रहेको प्रतिक्रिया सम्प्रेषण गरेको छ । यदि समयमै संयुक्त राष्ट्र संघको पहलमा बैठक बसेर छलफल गरेमा युक्रेनमाथि रुसले जारी राखेको विध्वंशकारी आक्रमण एवम् नरसंहार रोक्न सकिने कुरामा विश्वस्त हुने ठाउँ रहेको छ ।