News Desk
श्री कमल थापा ज्यु,
अध्यक्ष, राप्रपा नेपाल
केन्द्रिय कार्यालय, काठमाण्डौ
महोदय,
२१औँ शताब्दीको अत्याधुनिक एवं सभ्य समाजका शिक्षित नागरिक हौँ हामी नेपाली । पृथ्वी मात्र नभई विश्व ब्रम्हाँण्ड बुझेर “देश खाई शेष” भएका हामीलाई रास्ट्रबाद सिकाउने को हो तपाईँ ? सिँगो पृथ्वीलाई नै ग्लोबल भिलेज बनाऊन महाशक्तिहरू उद्धत हुँदै गएको यो युगमा जाबो १,४७,५१६ वर्ग कि.मी क्षेत्रफल बिखण्डित हुँदै बिलिन् हुनसक्नेमा यति धेरै चिन्ता तपाईंलाई मात्र किन ? हामीले त्याग्दै गएको सनातन धर्म संस्कृति अनि पूर्वीय संस्कारलाई स्वचालित चक्र सरी पश्चिमाहरुले छिटपुटरूपमा अँगाल्दै आएका छन् त यो देशलाई सर्वधर्म समभाव सहितको बिश्वमै नभएको सनातन धर्म सापेक्ष हिन्दु रास्ट्र कायम गर्न के हतार पर्यो तपाईंलाई ? निर्वाध चलीरहेका उद्योगधन्दा र कलकारखानाहरू नियोजीत रूपमा बन्द गराइएपछी सँसारिक बाध्यताले थिचेर निरीह बनेका हाम्रा कर्मठ नौजवानहरू बिदेशिनु परेको छ आज । तिनका रगत पसिनाले लत्पतिएको रेमिटेन्सको आँकडामा गर्व गर्ने बानी परेका हामीलाई के दिन्छ तपाईंको राष्ट्रवादले ? यसरी भित्रीएको रेमिटेन्सबाट, आयातित दैनिक उपभोग्य बस्तु र अन्य सँसाधनको खरिद मार्फत हामी नेपालीको दैनिकी चलीरहेको छ भने घुमीफिरी उक्त रकम पुन: बिदेशिंदा कसैलाई नलागेको चिन्ता तपाईंलाई मात्र किन ? जात, धर्म, लिंग र पहिचानका नाममा ससाना टुक्रामा विभाजित भएर बस्न रमाएका हामीलाई बडामहाराजा पृथ्वीनारायण शाहले भनेझैँ अखण्ड बनाएर एउटै मालामा किन जोड्न चाहनु हुन्छ तपाईँ ? सारीरिक एवं मानसिक रूपले अपरिपक्व किशोर किशोरीहरू उच्च शिक्षाको नाममा बिदेश पलायन भईरहँदा वार्षिक करिब ४० अर्ब स्वदेशी मुद्रा बिदेशिँदा गर्वगर्ने हामी नेपालीको मनमा किन देशभक्ति जगाउँदै हुनुहुन्छ तपाईं ?
हाम्रो इतिहास, सनातन धर्म संस्कृति, रीति रिवाज अनि चालचलनबाट वाक्क भएर विदेशीहरूको देखासिकी गरी तीनकै पिछलग्गु भएर त्यहीँ रमाउन लालायित हामी नेपालीलाई किन सम्बर्धनबादी बनाउन व्याकुल हुनुहुन्छ तपाईँ ? अध्यक्ष ज्यु, मुख्तियार काजी भीमसेन थापा जस्ताले जेलभित्र आफैँ सेरिएर मर्नु परेको देश हो यो । बीपी कोईराला जस्ता महान नेताद्वारा महेन्द्र जस्ता राजालाई मार्ने प्रपन्च रचिएको थियो यहाँ । पूरा जीवन राजनीतिमा बिताएका गणेशमान सिंह जस्ता त्यागी र कृष्ण प्रसाद भट्टराई जस्ता सन्त नेतालाई जीवनको उत्तरार्धमा राजनीतिप्रति नै वितृष्णा पैदा भएको भूमि हो हाम्रो । पुष्पलाल श्रेस्ठ र मनमोहन अधिकारी जस्ता सक्कली कम्युनिस्ट नेताको पदचापलाई अनुशरण गरेर खरो रूपमा अघी बढ्दा योजनाबद्ध रूपमा आफ्नाहरूबाटै दुर्घटना गराई मारिएका मदन भण्डारी जस्ता जननेताको मृतात्मा रोईरहेको धर्तीमा छौं हामी । सुशील कोईराला जस्ता स्वाभिमानी नेताको आफ्नै पलँगमा अस्वभाविक एवं रहस्यमय तारिकले भएको मृत्युको घटना ताजै छ हाम्रा मानसपटलमा । यस्ता कयौँ घटनालाई ओझेल पार्नेगरी राजदरबारको अत्यन्त सुरक्षित चौघेरा भित्र राजा बीरेन्द्रको सपरिवार हत्या गरी वंशनास गराईएको घटनाको समेत जिंउँदो साक्षी छौं हामी नेपाली । उल्लेखित तमाम घटनाका पात्रहरु मध्य यो देशको कुभलो सोच्ने सायदै कोही थिए होला तर विडम्बना, इतिहाँस जिउँदाले नै लेखाउने गर्दछन् यहाँ ।
देश र जनताको भलो चाहने अधिकाँश महापुरुषहरूको दुःखदायी अवसानले सिंचित भएको छ हाम्रो धर्ती । बीर पुर्खाहरुले जोगाएको हाम्रो बिरासत, सनातन धर्म संस्कृति, पहिचान अनि मूल्य र मान्यता सहित सम्पूर्ण ऐतिहाँसिक सत्य र तथ्यलाई जरैसमेत निमोठेर फाल्न खोज्नेहरूको लहैलहैमा मग्न छन् आज यही धर्तीमा अंकुरित अधिकाँश धर्तीपुत्रहरु । यसै धर्तीको एउटा पात्र, सुसँस्कृत सैनिक परिवारमा जन्मेर हुर्की बढी त्यही सँस्कार सिकेका अत्यन्त निर्भीक, नबिराउने र नडराउने (खरो) मानविय स्वभावका धनी, प्रखर रास्ट्रबादी व्यक्तित्व तपाईं । तर दुर्भाग्य, बाबु, दा, बा, कमरेड जस्ता मीठा शब्दले सम्बोधन गर्ने कार्यकर्ताको जमात र मक्ख पर्ने नेता देखेका नेपाली जनता त परको कुरा रह्यो, तपाईंका पार्टी भित्रका आफ्नै कार्यकर्ता र शुभचिन्तकले समेत चिन्न सकेनन् तपाईंलाई । सत्ता मार्फत अख्तियारीको चरम दुरुपयोग गर्ने कांग्रेस, एमाले, चरम दक्षिण पन्थी र उग्र बामपन्थी सहितका पार्टी र नेतृत्वले गरेका युगौँ असरदार रास्ट्रघाती सन्धि सम्झौताहरु; मौलाईरहेकोअर्बौँका खुलेआम संस्थागत भ्रष्टाचारहरू; राजनैतिक नियुक्तिको नाममा मिलीभगतमा कार्यपालिका, न्यायपालिका र सुरक्षा जस्ता सम्बेदनशिल क्षेत्रहरुमा गरिने मनलाग्दी नियुक्तिहरू; हत्यारा, बलात्कारी र भ्रष्टाचारी जस्ता जघन्य अपराधीहरूलाई दिईने संरक्षण र सामाजिक सम्मान सहितका अन्य सयौं अक्षम्य गल्ती कमजोरीलाई आँखा चिम्लेर सहने र सहज स्वीकार गर्ने बानी परेको छ हामीलाई । यस्ता अपराधी पार्टी र नेतालाई भोट हाल्ने हामी नेपाली सहित हिजो आफैले राजनीति सिकाएका चेलाहरु समेत तपाईंको प्रतिस्पर्धी भएर उत्रँदैछन् मैदानमा । नेपाली जनताको तपाईंप्रतिको नजरियालाई अत्यन्त धूमिल बनाईएको घोर कली युगको यो सुरूवाती चरणमा सत्य माथी असत्य हावी हुन खोज्दै छ ।
तपाईं आफैंले प्रतिपादन गरेका एजेण्डाको भजन किर्तन गर्दै गराऊँदै तपाईंलाई नै निस्तेज पार्न कम्मर कसेर लागेकाहरूले बनाएको वर्तमान परिदृश्य अत्यन्त उदेक लाग्दो छ । यसरी समाजलाई दिग्भ्रमित बनाईरहेको जालो हटाउँदै नेपाली जनताले तपाईंलाई बुझ्ने र बिश्वास गर्ने आधार तय गर्ने टड्कारो चुनौती तपाईंका सामु छ अध्यक्ष ज्यु । “नेपालको दीर्घकालिन हितका लागी २४० बर्षको गौरवसाली इतिहास बोकेको, राजनीति भन्दा माथी उठेको, उत्तर र दक्षिणका विशाल छिमेकी सहित बाँकी विश्वसँग समानान्तर सम्बन्ध बनाउन सक्ने, अभिभावकिय भूमिकाको आलँकारिक राजसंस्था आवश्यक छ तर कार्यकारी अधिकार जनतामै निहित हुनुपर्दछ” भन्ने तपाईको स्पष्ट धारणा र कार्यकारी भूमिकाको आकाँक्षी निर्मल निवासका बिचमा दूरी बढ्दै गएपछी सुनियोजीत तवरले जीवनको पचासौं वर्षसम्म साथ सहयोग र सहकार्य गरेको संस्थाका प्रतिनिधिबाट तपाईंमाथी भएको प्रतिघातको तितो यथार्थ नेपाली जनताले बुझेकै छैनन् । गठबन्धित सत्तारोहणको अत्यन्त न्यून समयमा पनि तपाईंको कार्य कुशलताको फाइदा लिएर अन्य पार्टीले दुई तिहाईको तर मार्न भ्याउँदा समेत आफनै पार्टी भित्र तपाईंको चरित्र र कार्यक्षमता माथी सन्देह पैदा गराइनुको भित्री रहस्य यही हो भनेर नेपाली जनतालाई छर्लँग पारीदिनुहोस् । आफ्नै नाभीबाट निस्किएको सुगन्धलाई खोज्न भौंतारिएको कस्तुरीझैँ तितर बितर भएका तपाईंका तमाम सुभचिन्तक एवं कार्यकर्ता सहित सारा नेपालीहरुले यथार्थमा अत्यन्त सभ्य अनि निष्ठावान तर लोकाज मा गलत चरितार्थ गराईएका तपाईँको असली चरित्र, राजनैतिक निष्ठा, कार्य क्षमता र सक्कली रास्ट्रबादी सोचलाई बुझ्न सकुन् ।
“देश गुनाको भेष र कपाल गुनाको केश” गर्न माहिर समकालीन नेताहरूका चिप्ला र मीठा भाषणमा सम्बृद्धि देख्ने बानी परेका नेपाली जनताले बल्ल चिन्नेछन् कमल थापालाई । त्यसपछी मात्र शान्तिपूर्ण ढंगले जनताको अभिमत मार्फत सम्बृद्ध नेपाल बनाउने तपाईंको सपना साकार हुनेछ । अन्तमा, नेपाल र नेपालीलाई केन्द्रबिन्दुमा राखेर तपाईले पून: सुरू गर्नुभएको साहसिक राजनैतिक यात्राले सिघ्रातिसीघ्र निर्दिष्ट लक्ष प्राप्त गरोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ।
याचक ……………
भरत ढकाल
त्रिपुरासुन्दरी-२, धादिङ