News Desk
बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी सर्किट
- सरोज ओझा
विश्वमानचित्रमा रहेको नेपाल धर्म, कला संस्कृति र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको देश हो । विश्वका ८ अग्ला हिमाल सहितका मनोरम हिमश्रृखंलाले नेपाल घुम्न आउने जो कोही पर्यटकको मन लोभिने गर्दछ । विश्वको शीर सगरमाथा विराजमान रहेको देश नेपाल भगवान गौतम बुद्धको पावन जन्मभूमि पनि हो ।
बुद्धको जन्मस्थल लुम्बिनी नेपालको राजधानी काठमाडौँबाट करिब ३०० कि.मिको दुरी र भैरहवाबाट केवल २२ किमिको दुरिमा पूर्वतर्फ अवस्थित रहेको छ । ईशापूर्व ६२३ मा भगवान बुद्धले लुम्बिनीमा जन्म लिनु भएको थियो । शान्तिका महानायक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको लागि एक पवित्र र महत्वपूर्ण धार्मिक स्थल हो भने विश्व समुदायको आस्थाको केन्द्र पनि हो ।
विश्व सम्पदा सूचीमा समावेश रहेको लुम्बिनीमा पवित्र उद्यान विद्यमान छ भने उद्यान भित्र धार्मिक एंव पूरातात्विक महत्व बोकेका अशोक स्तम्भ, जन्म स्मारक किला, मायादेवी मन्दिर, पुस्करणी पोखरी तथा करिब ईशापूर्व छौठौ शताब्दी देखीको संरचनाको भग्नावेशहरु रहेका छन् ।
लुम्बिनीको उत्तर मोहडामा रहेको बसपार्क छेउमा यस स्थल प्रवेश गर्ने मुलद्वार रहेको छ । उक्त मूलद्वारबाट करिब दुई किमिको दुरीमा अवस्थित पवित्र उद्यान अर्थात बगैचासम्म पुग्न १५÷२० मिनेटको पैदल यात्रा वा एक किलोमिटरको दुरीमा रहेको विश्वशान्ति अखण्ड दिप सम्मको जलविहार र ईरिक्साको सुविधा प्रयोग गर्न सकिन्छ । यस पवित्र बगैचाभित्र धार्मिक गतिविधि र तिर्थयात्री श्रद्धालुहरुको चहलपहल समेत व्यापक हुने गर्दछ । यस पावन स्थल भित्र मन्त्र, ध्यान, जप, पूजा, पाठ, अर्चना, साधना जस्ता धार्मिक कार्यहरु हुने गर्दछन् ।
करिब ११५५ विघा भित्र फैलिएर रहेको लुम्बिनी संरक्षण क्षेत्रभित्र मिनी बौद्ध विश्वको झल्को दिने २९ वटा थेराभाडा र माहायाना दुबैका अन्तराष्र्टि«य विहार गुम्बाहरु रहेका छन् । लुम्बिनी क्षेत्रभित्र म्यानमार, थाईल्यान्ड, श्रीलंका, कम्बोडिया, भियतनम, जापान, चीन, कोरिया, अष्टिया, जर्मन आदि देशहरुद्वारा फरक फरक शैलीमाझ निर्मित कलात्मक गुम्बा एंव मन्दिरहरु दर्शनीय रहेका छन् । मौलिकता भल्कने गरि आ–आफ्नो श्रम सिप, र प्रविधिको प्रयोगबाट निर्मित मन्दिर, चैत्य एंव गुम्बाहरुले लुम्बिनीको शोभा त अवश्य बढाएका छन् नै यसबाहेक पनि अन्र्तदेशीय बौद्ध संस्कृतिको विकास र विस्तारमा समेत टेवा पु¥याएको छ ।त्यसो त देखि बुद्ध जन्मस्थल लुम्बनी घुम्न आउने बौद्ध धर्मावलम्बी एंव आफ्नो राष्टका नागरिकहरुको सहजताका लागि भनेर विभिन्न देशले यस क्षेत्रभित्र पाहुना घरको समेत व्यवस्था गरेका छन् । त्यसैगरि लुम्बिनी क्षेत्रभित्र रहेका विहारमा लुम्बिनी घुम्न आउने पर्यटक एंव बुद्ध धर्मका अनुयायीहरुको लागि आश्रय स्थलको व्यवस्था गरिएको छ । यसबाट बुद्ध जन्मस्थल आउन चाहने स्वदेशी एवं विदेशीहरुलाई राहत मिल्ने गरेको छ ।
लुम्बिनी क्षेत्रमो मुख्य भु–भागबाट उत्तर दिशातर्फ सांस्कृतिक केन्द्र र नयाँ लुम्बिनी ग्राम अवस्थित रहेको छ । यसभित्र संग्रहालय, आगन्तुक सूचना केन्द्र विश्वशान्ति स्तुपा, अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, वृहत पुस्तकालय, सारस क्षेत्र आदि रहेका छन् । भगवान गौत्म बुद्धको पावन जन्मस्थल लुम्बनीको संरक्षण र विकासका निम्ती संयुक्त राष्ट्र संघको सहयोगमा लुम्बिनी विकास कोषले लुम्बिनीको विकासका निम्ति लुम्बिनी गुरुयोजना अघि सारेको छ ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब २५ कि.मि. र कपिलवस्तुको सरदमुकाम तौलिहवाबाट करिब ३ किमिको दुरीमा प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट अवस्थित रहेको छ । भगवान बुद्धले शान्तिको खोजीमा घरबाट निस्कनु पूर्वको २९ वर्षसम्मको कालखण्ड राजकुमारका रुपमा क्रिडास्थलको रुपमा यहाँ व्यथित गर्नुभएको थियो ।
तिलौराकोटमा तिलौराकोट संग्रहालय, पश्चिमीद्वार, केन्द्रिय संरचना परिसर, मध्यभागको पोखरी, समइ माइ मन्दिर, पूर्वीद्वार किल्ला, पर्खाल उत्तरतिरको जोडी स्तुपहरु, पूर्वी स्तुप र विहारहरु दक्षिण तर्फका औधोगिक क्षेत्र र मध्य भागमा अवस्थित स्मारकीय परिसर जस्ता पुरातात्विक एंव धार्मिक महत्व बोकेका प्राचीन तिलौराकाट दरबारको भग्नावशेष र संरचनाहरु रहेका छन् । तिलौराकोट दरबारको मध्यभागमा अवस्थित केन्द्रिय संरचना परिसरमा बौद्ध अनुयानीहरुले विशेष गरि पूजा, जप, ध्यान, पाठ एंव स्तुती लगायतका तथा धार्मिक गतिविधिहरु गर्ने गर्दछन् ।
तिलोराकोट दरबारको मध्य भागको परिसर क्षेत्रको नजिक लगायत दरबारको आसपासको क्षेत्रमा समेत उत्खनन् कार्य जारी रहेको छ । धार्मिक एंव पुरातात्विक महत्व बोकेको यस स्थानमा दैनिक हजारौको संख्यामा पर्यटकहरु आउने गर्दछन् । यद्यपी तिलौराकोट दरबारको समुचित विकास एंव प्रचारप्रसारमा कमी रहेको पाईन्छ।
तिलौराकोट दरबारबाट करिब ६ किमिको दुरीमा पवित्र कूडान क्षेत्र अवस्थित रहेको छ । प्राचीन निग्रोधारामा नामले चिनिले यस स्थलमा शाक्यमूनी बुद्धले ज्ञान प्राप्त गरिसके पश्चात पहिलोपटक आफ्ना पिता राजा शुद्धोधनलाई भेट गरेका थिए ।पुरात्तात्विक एंव धार्मिक महत्वको यस स्थानमा हाल ३ वटा स्तुपाहरु एउटा पोखरी र इनार रहेको छ । यहाँ स्थित स्तुपाहरु प्राचीन कालमा निर्माण गरिएको हो । कुडान क्षेत्रमा रहेको एक नम्वर स्तुप बुद्धको छोरा राहुलले बुद्धको प्रमुख शिष्य सारीपुत्रबाट भिक्षु भएको सम्झना स्वरुप निर्माण गरिएको हो । त्यस्तै २ नम्वर स्तुप राजा शुद्धोधनले शाक्यमुनि बुद्धलाई बुद्धत्व प्राप्त गरि सके पश्चात पहिलोपटक निग्रोध विहारमा भेट गरेको र मज्मिनिकायको ५ वटा सुत्तहरु प्रवचन गरेको क्षणलाई सम्मान गरि बनाइएको हो । त्यस्तै यहाँस्थित ३ नम्वर क्षेत्र बुद्धकी कान्छी आमा तथा महारानी प्रजापति गौतमीले बुद्धलाई काषाय वस्त्र दान गरेको सम्झनामा निर्माण गरिएको थियो । विहारको पूर्वपट्टी भागमा रहेको पोखरीमा बुद्धसंगै आएर करिव ४० दिनको बर्षावास बसी करिव ३०० भिक्षुहरुले यस बगैचामा रहेको पोखरीमा स्नान गरेको मानिन्छ । केही विद्धानहरुले यस स्थललाई ककु छन्द बुद्धको शहरका रुपमा परिचय दिएका छन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवा कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट करिब ८ कि.मि.को दुरीमा रहेको निग्लिहवा कनकमुनि बुद्धको जन्मस्थल पर्दछ । यस स्थानमा इशापूर्व २४९ मा सम्राट अशोकले निर्माण गरेको अशोक स्तम्भ रहेको छ । जुन हाल खण्डमा विभक्त रहेको पाइन्छ स्तम्भको पूर्वतर्फ प्राचीन पोखरी अवस्थित रहेको छ ।
भगवान गौतम बुद्धसंग जोडिने अर्को स्थल हो सगरहवा, जुन निग्लिहवा क्षेत्रमा अवस्थित छ । यस स्थललाई शाक्यमुनि बुद्धले महापरिनिर्माण गर्ने बेलाको केही समय अगाडि कौशाला राज्यका राजा भिरुढकले प्रतिशोध साधी प्राचिन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको स्थानका रुपमा लिइने गरिन्छ । लम्बु सागरको नामले समेत चिनिने यस पोखरीको हालको लम्बाई १०५९ फिट र चौडाई २२५ फिट रहेको छ । तालको पश्चिम तथा दक्षिण खण्डमा प्राचिन स्तुप तथा विहार लगायतका संरचनाका भग्नावशेषहरु रहेका छन् । लुम्बिनी आसपासमा रहेको अर्को पुरातात्विक एवं धार्मिक दृष्टिले महत्व बोक्ने स्थानका रुपमा सिसनियालाई लिने गरिन्छ । यस स्थलमा प्राचीन कालमा शाक्यवंशद्धारा मूल्यवान वस्तु प्रयोग गरि स्तुपा निर्माण गरेको विश्वास गरिन्छ । यहाँ हाल पनि प्राचिन माटाका भाडाकुडा, जलेका इट्टा, शाक्यकालीन मुद्रा आदि रहेको पाइन्छ ।
लुम्बिनी आसपासको अर्को धार्मिक एवं पुरातात्विक महत्व बोेकेको स्थल हो रुपन्देहीको देवदह । पूर्व पश्चिम राजमार्गबाट केवल ४ कि.मी.को दुरी तय गरि प्राचिन कोलिया राज्यको राजधानी पुग्न सकिन्छ । जुन भगवान गौतमको मावली घर रहेको र उनले आफ्नो बाल्यकालको केही समय यसै स्थानमा विताएका थिए । धार्मिक एवं पुरातात्विक महत्वको यस देवदह क्षेत्रमा देवहरु ताल कन्या माई, भवानीपुर मन्दिर, प्राचिन कुवा, वंगाली ईनार, पाकडी बृक्ष, आदि रहेको छन् ।
भगवान बुद्धसंग जोडिएको लुम्विनी आसपासको अर्को महत्वपूर्ण क्षेत्र हो नवलपरासीको रामग्राम । रामग्राम स्थित झराहि नदिको किनारामा एक सात मिटर अग्लो स्तुप विराजमान रहेको छ । जुन हालसम्म रहेका मौलिक स्तुपहरु मध्येको एक मात्र सङ्लो स्तुपको रुपमा रहेको छ । यस स्तुपलाई विश्वकै दुर्लभ र विशेष महत्वको स्तुपका रुपमा लिईने गरिन्छ । बौद्ध धर्म ग्रन्थका अनुसार सम्राट अशोकले आफ्नो शासन काल भरिमा बुद्धसँग सम्वन्धित ८४ हजार विशेष स्तुप निर्माण गर्ने चाहना राखी यस क्षेत्रमा राज्य गर्ने कोलिया राजालाई भेटेका थिए । यद्यपि तत्कालिन राजाले उनको प्रस्ताव माथि रुचि नदेखाएको भन्ने सन्दर्भ ग्रन्थमा उल्लेख गरिएको छ । यसर्थ पनि रामग्राम स्थित यस स्तुप दर्शनका लागि दैनिक सयौंको संख्यामा मानिसहरु आउने गर्दछन् ।
शान्तिका प्रवर्तक भगवान गौतम बुद्धको पावन जन्मस्थल लुम्विनी र यस आसपासमा रहेका अन्य पुरातात्विक एवं धार्मिक महत्वका स्थानहरुको विकासले क्रमिक रुपमा गतिलिदै गई रहेको आभाष पाउन सकिन्छ । त्यसो त सबै मानव सामुदायको आस्थाको केन्द्र मानिने लुम्बिनी क्षेत्र र अन्य प्राचीन पहिचान बोकेका स्थलहरुको संरक्षणमा बौद्ध मार्गी लगायतका अन्य समुदायले देखाउँदै आएको तदरुकता उत्तिकै प्रशंसनिय रहेको छ । त्यसो त हामीले २६४६ औ बुद्धजयन्ती मनाउदै गर्दा लुम्बिनी र लुम्बिनी सर्किट भित्र समेटिएका क्षेत्रको विकास साथै बुद्धसँग जोडिएका हरेक स्थलको विकास र धार्मिक एवं पुरातात्विक महत्व बोकेका सम्पदाको उचित संरक्षणका निम्ति हामी सबैले होस्टेमा हैसै गर्ने संकल्प लिनु श्रेयष्कर देखिन्छ ।