News Desk
-अनिल भट्टराई
प्रतिनिधी सभाका लागि हुनगईरहेको उप निर्वाचनले बारा २, चितवन २ र तनहुँ १ मा हाल रिक्त सांसद चयन गर्ने प्रकृयामा छ । गठबन्धनका तर्फबाट राष्ट्रिय राजनीतिका स्थापित र खारिएका नेता गोविन्द भट्टराई, जितनारायण श्रेष्ठ, उपेन्द्र यादव र विभिन्न पेशा छाडेर केही समय अघि मात्रै राजनीतिमा होमिएका तर चर्चित अनुहारहरु रवि लामिछाने, स्वर्णिम वाग्ले, रमेश खरेल र सर्वेन्द्र खनालजस्ता व्यक्तित्वहरुको उम्मेदवारीले अहिलेको निर्वाचन धेरैका लागि चासोको बिषय बन्न पुगेको छ । यिनै कारणले वैशाख १० मा हुन गईरहेको उप निर्वाचनको माहौललाई गर्माएको अथवा भनौ तताएको अवस्था छ । यस माझ अझ तनहुँको चर्चा व्यापक भईरहेको पाईन्छ ।
गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्नुभएपछि तनहुँ एकमा उप निर्वाचन हुन लागेको हो । निर्वाचनमा नेपाली राजनीतिका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसँगै स्थापनाको छोटो समयमा २० सिट सहित राष्ट्रिय पार्टीको हैसियत बनाएको राष्ट्रिय स्वतन्त्र पार्टिबाट चर्चित अनुहारहरु चुनावी मैदानमा होमिएसँगै तनहुँ १ सबैको नजरमा परेको छ भन्दा अतियुक्ती हुनेछैन् ।
हुन त अन्य दलका उम्मेदवार समेत प्रतिस्पर्धामा छन, यद्यपि सांगठनिक रुपमा र परिस्थितिका हिसाबले तनहुँ १ मा ३ जना उम्मेदवारहरु चर्चामा छन् । ति नाम हुन सत्तागठबन्धनको समर्थनमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट पूर्व डिआईजी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले । तसर्थ एक प्रतिनिधि सभा सदस्यको लागि तनहुँ १ मा ९ जनाको उम्मेदवारी परेपनि त्रिपक्षिय प्रतिस्पर्धा हुने चर्चा चुलिएको छ ।
गत निर्वाचनमा सो क्षेत्रमा सत्तागठबन्धनबाट कांग्रेसका पौडेलले २५ हजार ३६१ मत प्राप्त गर्दै विजयी बन्नु भएको थियो । मंसिर ४ को निर्वाचनमा पौडेललाई माओवादी केन्द्र, जनमोर्चा र नेकपा ९एकीकृत समाजवादी०को समर्थन थियो । त्यसो त अहिले कांग्रेसका उम्मेदवार भट्टराईलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलको समेत समर्थन रहेको छ ।
कांग्रेसले पूर्व गृहमन्त्री समेत रहिसकेका पार्टिका पूर्वसहमहान्त्री गोविन्दराज जोशीको कारवाही फुकुवा गरेको छ भने भट्टराई प्रति जोशी पनि सकारात्मक देखिएका छन् । तसर्थ पनि भट्टराईलाई सहज हुने अनुमान गर्न सकिन्छ। जोशीले गएको निर्वाचनमा ६ हजार ८सय हाराहारी मत प्राप्त गरेका थिए । त्यस मतलाई भट्टराईले आफ्नो पक्षमा पार्न सक्ने अडकल बाजी गर्न सकिन्छ । त्यसो हुनु भनेको उनको जित सुनिश्चित हुनु पनि हो ।
त्यस्तै गत प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ मा निकटतम प्रतिद्धन्द्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । त्यसैले एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाललाई पनि संभावना भएका मध्येमा हेरिएको छ । खनाल प्रहरि सङ्गठन भित्र हुदा अकुत सम्पत्ति आर्जन गर्ने देखि लिएर संसद् अपहरण काण्ड सम्म मुछिएका बिबादित ब्यक्ति मानिन्छन १
गएको निर्वाचनमा भर्खर खुलेको दल रास्वपाबाट विकास सिग्देलले चौथो स्थानमा रहदै ६ हजार ४४ मत प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टिबाट अहिलेका उम्मेदवार स्वर्णिम वाग्ले बौद्धिक मात्र नभई नव धनाड्य पनि हुन उनी पनि नेपाली काङ्ग्रेस कै कोटाबाट योजना आयोगको सदस्य देखि उपाध्यक्षसम्म र अन्य प्रशस्त लाभका पदहरु लिईसकेका व्यक्ति भित्र पर्ने गर्दछन । हालै पनि उनी विदेशी सघंसंस्थाहरुको सल्लाहकारमा रहि दैनिक १२०० डलरको जागिर गरिरहेका व्यक्ति हुन । वाग्लेमाथि नेपाली राजनीति आफ्नो अनुकुल नहुँदा थिर हुन नसक्ने दाग लागेको छ । सबै कुराको प्रयोग गरेर भए पनि उनले केही हजार मत तान्न सक्ने अडकलबाजी पनि हुँदै आएको छ ।
गएको निर्वाचनको नतिजाअनुसार भट्टराई र खनालबीच प्रतिस्पर्धा हुने देखिन्छ भने स्वर्णिम तेस्रोमा आउने अवस्था छ । यसरी सरसर्ती हेर्दा गोविन्द भट्टराईको जित सुनिस्चित देखिन्छ । गत निर्वाचनमा पौडललाई प्राप्त २५ हजार ३६१ मत सुरक्षित गर्न गठबन्धनका उम्मेदवार भट्टराईलाई त्यति असहज हुने देखिदैन । तनहुँले राष्ट्रपति पाएपछि तनहुँबासीमा खुशीयाली छाएको छ भने उहाँको विरासत क्षेत्र भएकाले पनि कांग्रेस उम्मेदवार भट्टराईप्रति मतदाताले सदसहायता देखाउनेमा दुईमत छैन् । अर्कोतर्फ सत्ता साझेदार दल र गोविन्दराज जोशीसँगको मत पनि स्वभाविक रुपमा उनले नै प्राप्त गर्ने देखिन्छ । उनका अन्य सबल पक्ष भनेको त्यागको राजनीति हो । चार दशकको राजनीतिक अनुभव प्राप्त भट्टराई हालसम्म कुनै पनि लाभको पद नलिने उम्मेदवारमा पर्छन् । तीन पटकसम्म कांग्रेस खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित गोविन्द भट्टराईले समाजशास्त्र, व्यवस्थापन शास्त्र, अर्थ शास्त्र, राजनीति शास्त्रमा उच्च शिक्षा प्राप्त गरेका छन् । पिएचडीका स्कलर समेत हुन् उनी । त्यसो त तनहुँको माटोमा भिजेका र धेरैले मन पराउने सादगी नेताको छवि उनको छ ।
तनहुँका विभिन्न ठाउँमा खानेपानी आयोजनाका लागि आफ्नै पहलमा करिब १५० करोड बराबरको बजेट लान सफल नेताको पहिचान उनको छ । त्यसका अलवा बाटोघाटो पुल पुलेसा स्कुलहरुका भवन देखि गुम्बाहरुका साथै अन्य विकास आयोजनाका लागि उनले पुर्याएको योगदान र राजनीतिक एवम् सामाजिक गतिविधिमा नियमित रुपमा सकृय रहि आएकाले पनि अन्य प्रतिस्पर्धीका तुलनामा उनलाई सहज देखिन्छ । तनहुँकै बासिन्दा र तनहुँको भुगोलसँग परिचित भएकाले उनलाई चिनेजानेकासँग व्यक्तिगत सम्बन्ध प्रगाढ त हुने नै भयो त्यसमाथि कांग्रेसको गढ क्षेत्रका निष्ठावान नेता कार्यकर्ताको साथले पनि उनको पक्षमा माहौल निकै उत्साहप्रद देखिन्छ । मृदु र सहजपना उनको अर्को बिशेषता हो ।
खनाल र वाग्ले तनहुँबाट किनारामा बसेका र नयाँ भएकाले पनि भट्टराईप्रति तनहुँबासीको सदसयता रहने नै छ । त्यसैले अवसरवादीका विरुद्ध त्यागी नेताको तुलना गर्नु नै बेकार छ भन्ने मेरो व्यक्तिगत बुझाई छ । कसैलाई नबिझाउने स्वभाव र सरलपनाका कारण पनि गोविन्द भट्टराई जनता माझ लोकप्रिय छन् । चुनावी कमाण्डर एउटै भुमीका, सुख दुखका साथी, अनुभवी स्पष्टवक्ता, कार्यकर्ताको मनोभावना बुझ्न सक्ने नेता शंकर भण्डारी हुनु पनि सकारात्मक पाटो हो । र भट्टराई पटक पटक परिक्षित नेता पनि होईनन् । पहिलो चोटि प्रतिनिधी सभाका लागि उम्मेदवार बनेका भट्टराईको उम्मेदवारीले यदि कोही हौंसिएका छन् भने तनहुँबासी हौसिएका छन् । कांग्रेसको चुनाव चिन्ह होस् कि राष्ट्रपति रामचन्द्र पौडेलको विरासत, संगठन होस् कि उम्मेदवार तनहुँ १ ले अरु विकल्प हिजो पनि चाहेन र आज पनि चाहदैन । कांग्रेसको विकल्प कांग्रेस र रामचन्द्रको विकल्प गोविन्द नै हो भन्नेमा तनहुँबासी सचेत देखिन्छन ।