एनआरएनएको उपमहासचिवमा मेरो उम्मेदवारी र प्राथमिकता
News Desk
Sep-28 , 2023 तारिख 03:05 बेलुका

-सोम सापकोटा

‘नेपालीका लागि नेपाली’ भने भन्ने मूल मन्त्रसहित सन् २००३ मा गैर आवासीय नेपाली संघको स्थापना गरिएको हो । त्यसपछि आजसम्म निरन्तर क्रियाशील रही नेपाल र नेपालीको सेवामा प्रतिबद्ध रहँदै आएको छ ।

अवसरको खोजी, रोजगारी, अध्ययन, व्यापार व्यवसायका लागि तथा बाध्यतावश आफ्नो मातृभूमि छाडेर विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूको छाता संगठन गैरआवासीय नेपाली संघ स्थापना भएको दुई दशक पूरा भइसकेको छ ।

यस अभियानका क्रममा तपाईंको निरन्तर साथ र सहयोगप्रति म हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछु । गैरआवासीय नेपालीसँगको अभियानमा तपाईंको सहयोगमा हालसम्म हासिल गरेको अनुभव र क्षमतालाई सधैँ गैरआवासीय नेपालीको हितमा लगाउने प्रतिबद्धतासहित यहाँहरूको सल्लाह र सुझावअनुसार नै आगामी कार्यकाल (सन् २०२३–२०२५) का लागि उपमहासचिव पदको उम्मेदवारी दिने निर्णय गरेको छु । उक्त जिम्मेवारीमा रहँदा संघको बृहत्तर हित तथा जनभावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

 

मेरा प्राथमिकताहरू

१. ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यअनुरूप नेपालको नीतिगत व्यवस्थाका लागि राजनीतिक दल, सरकार र सरोकारवाला निकायसँग पहल गर्ने प्रतिबद्धता जनाउँछु।

२. सहज ढङ्गले गैरआवासीय नेपाली नागरिकता प्राप्ति र त्यसको नरन्तरताका लागि पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु। गैरआवासीय नेपालीले नेपालमा आर्थिक अधिकार प्रयोग गर्दा आइपरेका समस्या समाधान गर्न र विदेशबाट नेपालमा लगानी जुटाउने सवालमा रहेका कानुनी जटिलता हटाउनका लागि पहल गर्नेछु ।

३. गैरआवासीय नेपालीले नेपालका जुनसुकै आर्थिक क्षेत्रमा सहज ढङ्गले लगानीको वातावरण बनाउन सरोकारवाला निकायसँग समन्वय गरी तार्किक निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाउँदछु । 

४. रोजगारीको सिलसिलामा मध्यपूर्व वा अन्य देशमा पुगेका नेपालीको हितलाई मध्यनजर गर्दै वैदेशिक रोजगार कल्याणकारी कोषलाई थप प्रभावकारी बनाउन आवश्यक रहेकाले त्यसका लागि पहल गर्नेछु ।

५. उक्त कोषमार्फत श्रम समस्यामा परेका व्यक्तिलाई कानुनी उपचारमा सहयोग गर्नु, वैकल्पिक रोजगारीको पहल गर्नु, गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिको उपचार गर्नु, विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिको परिवारलाई अवस्था हेरेर आर्थिक सहायता उपलब्ध गराउनु र निजका नाबालिग छोराछोरीको शिक्षाका लागि सहयोग हुने व्यवस्था मिलाउने छु ।

६. मातृभूमिको विकास र समृद्धिका लागि उठिरहेको ‘सामूहिक लगानी कोष’मा विदेशमा बस्ने सबै खाले नेपालीले लगानी गर्न सक्ने गरी मूर्तरूप दिने प्रतिबद्धता व्यक्त गर्दछु । 

७. विदेशमा सिकेको ज्ञान, सीप र  प्रविधि नेपाल भित्र्याउने वातावरण गराउने मात्र होइन, पछिल्लो समय नेपालको सीप डिजिटल माध्यममार्फत विदेशमा जान सुरु भइसकेको छ । त्यसलाई थप व्यवस्थित गरी व्यवसायिकरुपमा विदेशी मुद्रा आर्जनको माध्यम बनाउन पहल गर्ने प्रतिबद्धता जनाउँछु । 

८. नेपाल संसारकै सुन्दर देशमध्येको एक हो । त्यसैले नेपालको पर्यटकीय क्षेत्रको विकासमा महत्त्वपूर्ण काम गर्न आवश्यक छ । सगरमाथा, लुम्बिनी, पशुपतिनाथलगायतका सबै पर्यटकीय क्षेत्रको विकासका लागि वातावरण निर्माण गर्न सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउँछु ।

९. नेपाल पर्यटन बोर्डको मानार्थ जनप्रतिनिधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन सद्भावना दूतको रूपमा काम गरिसकेको अनुभवको आधारमा एनआरएनएकै माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न थप प्रविधिमैत्री तरिकाबाट नेपाली भाषा, संस्कृति, नेपाली रैथाने खानको प्रवर्धन गर्नुपर्ने  आवश्यक ठानेको छु । 

१०. वैदेशिक रोजगारीमा जानुपूर्व नै सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली पठाउन दक्ष नेपाली कामदार उत्पादनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदछु । त्यसका लागि आवश्यक तालिम केन्द्र स्थापनाका लागि नेपाल सरकारसँग मिलेरै काम गर्न आवश्यक ठानेके छु ।

११. गैरआवासीय नेपाली संघको स्थापनापछिका केही वर्षको ओज र गरिमामा बेलाबेलामा देखिएका विवादहरुले कमजोर पारेको धेरै नेपालीले अनुभव गर्नुभएको छ । पछिल्लो समय खस्किएको एनआरएनएको ओजलाई थप लोकतान्त्रिक, विधिसम्मत, एकताबद्ध र पारदर्शी बनाउन पहल गर्ने प्रतिबद्धता जनाउँदछु । 

१२. एनआरएनएको काठमाडौँस्थित सचिवालयलाई थप व्यवस्थित, प्रविधिमैत्री, क्रियाशील बनाउँदै सँस्थागत सुधार र भावनात्मक एकतालाइ मजबुद पारी संसारमा रहेका नेपालीले आफ्नो समस्याको जानकारी गराउने र समाधानका लागि तत्काल सम्बोधन गर्ने गरी डेस्क स्थापना गर्न तथा विदेशमा बस्ने नेपालीका लागि उद्धार, कानुनी सुझाव, सहयोग र अन्य समस्या समाधानका लागि २४ सै घन्टा सेवा दिनेगरी काम गर्न पहल गर्नेछु । 

१3. संघले घोषणा गरेका कार्यक्रम तथा संघ मातहत रहेर गरिने कार्यक्रमलाई नीतिगत प्रक्रिया र संस्थागत पद्धतिबाट कार्यान्वयन गर्न/गराउन आर्थिक रूपमा सबल, सक्षम एकताबद्ध र सबैले अपनत्व महसुस गर्न सक्ने साझा गैर-आवासीय नेपाली संघ सधैँ मेरो कामको प्राथमिकताको क्षेत्र भएको जानकारी गराउँछु ।

१४. पारदर्शी, जवाफदेही तथा समावेशी कार्य प्रणाली, व्यवस्थित, प्रविधिमैत्री तथा दक्ष संगठनात्मक शैली। तथ्यमा आधारित निर्णय तथा कार्यसम्पादन प्रक्रिया अपनाइ लगानीको उचित वातावरण तथा सुरक्षाको नीतिगत व्यवस्थाका लागि पहल गर्ने छु ।

१५. प्राथमिकताका आधारमा कार्यक्रम बनाइ योजना कार्यान्वयन गर्दै नीतिगत सुधार तथा रणनीतिक साझेदारी सुनिश्चितताका लागि उपयुक्त मार्ग पहिचन गरी त्यसलाई अवलम्बन गर्ने छु ।

१६. महिला, युवा, दोस्रो पुस्ता तथा समग्र सदस्यहरूको अर्थपूर्ण सहभागितालाई विशेष जोड दिँदै मर्यादित, सम्मानित तथा सुरक्षित वैदिशक रोजगारी र पेसामा संलग्नता हुने वातावरण निर्माणमा ध्यान दिने छु।

१७. विश्वव्यापी नेपाली सञ्जाललाई थप मजबुद र विस्तार गरी 'नेपालको समृद्धि सबैको सद्‍भाव,प्रभावकारी परियोजना तथा मेक इन नेपालमै सबैको लगाव' भन्ने नारालाई सार्थक बनाउन पहल गर्ने छु ।

१८. नेपालका राष्ट्रिय सांस्कृतिक धरोहर, भाषा, कला, भोजन र पर्यटनको प्रोत्साहन र प्रवर्द्धनमा निरन्तर संवाद, समस्या विश्लेषण र दीर्घकालीन समाधानसहितका अवश्यक योजना निर्माण गरी अघि बढ्ने छु ।

मेरो अबद्धता

सुरुवात सन् २००६ मा पोर्चुगलबाट भएको हो । जुन यात्रा आजसम्म अविच्छिन्न र निरन्तर छ । यस अवधिमा मैले संघका विभिन्न तह र पदीय जिम्मेवारीमा रहेर कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेको छु ।

पहिलो पटक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यकारी सदस्य (सन २००६२००७) तथा सन् २००८ देखि २०११ सम्म गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् डेनमार्कको संस्थापक अध्यक्षको रूपमा काम गरेको छु ।

त्यस्तै, सन् २०११ देखि २०१३ सम्म एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य भएर काम गरेको अनुभव पनि सँगालेको छु । साथै सन् २०१३ देखि २०१५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रको उपसंयोजकको जिम्मेवारी निर्वाह गरेको छु । त्यसैगरी सन् २०१५२०१७ सम्म आइसिसी सदस्य हुँदै सन् २०१७ देखि २०१९  अन्तर्राष्ट्रिय समन्वय परिषद्को सहकोषाध्यक्ष र २०१९ देखि २०२१ संघको सल्लाहकार भएर जिम्मेवारी पूरा गरिसकेको छु । यसैगरी हाल २०२१२०२३ को मौजुदा कार्यसमितिमा प्रवक्ताको रूपमा संघमा क्रियाशील नै रहिरहेको छु ।