News Desk
-सरोज ओझा
आज २१ नोभेम्बर अर्थात विश्व टेलिभिजन दिवस । टेलिभिजनले हाम्रो समाजमा पारेको प्रभावलाई स्मरण गर्दै सन १९९६ मा पहिलोपटक यो दिवस मनाउन थालिएको हो । टेलिभिजनको बढ्दो प्रभावसँगै सापेक्ष बिषय वा सन्दर्भलाई विश्वव्यापी आकार दिने तथा सम्भावित भूमिकालाई मध्यनजर राख्दै नोभेम्बर २१ मा विश्व टेलिभिजन दिवस मनाउन थालिएको हो । विश्व टेलिभिजन दिवसले हाम्रो जीवनमा टेलिभिजनको महत्वलाई दर्शाउन मद्धत पुर्याउँनुका साथै एतिहासिकता र उपलब्धी बारे स्मरण गराउने काम गर्दछ।
इतिहास कोटयाउने हो जोन लोगी बेयर्डले सन २०२५ मा टेलिभिजनमा मानिसको आकृतिलाई चल्ने गरि देखाएका थिए । त्यस्तै फिलो टेलर फारन्सवर्थले सन् १९२७ मा पहिलो पटक चल छवि (तस्बिर) लाई पूर्ण कार्यात्मक बनाई इलेक्ट्रोनिक टेलिभिजन प्रणालीको विकास गरे । त्यसपछि यसको विकासका निम्ती विभिन्न प्रयासहरु हुँदै रहे । यस क्रममा सन् १९४० को दशकमा जब टेलिभिजन पहिलो पटक दृश्यमा आयो यसको आगमनले विश्वलाई मिहिन रूपमा परिवर्तन गर्यो । टेलिभिजनको विकासले रेडियोको दबदबालाई तोडदै सुन्ने मात्र होईन हेर्दै सुन्ने परिवेशको निर्माण हुन पुग्यो । फलत: दर्शकहरूको बानीमा महत्त्वपूर्ण परिवर्तन भएको छ। यो सय बर्षमा टिभी टेक्नोलोजीमा व्यापक सुधार आएको छ । टेलिभिजनले गरेका प्राविधिक विकासहरू वास्तवमा १९३० को दशकको उत्तरार्धदेखि अवस्थित मौलिक प्रणालीको जगमा उभिएरै भएका छन् । दर्शक पहुँचका हिसाबले १९६० मा रंगीन टिभी हुँदै १९७० मा केबल, १९८० मा भिसिआर र १९९० मा एचडीले गति प्राप्त गर्यो । उपग्रहले टेलिभिजनलाई विश्वभरी फैलन मद्दत गरेको छ, अर्थात यसले हामीलाई विश्वव्यापी बनाएको छ । एक्काइसौं शताब्दीमा दर्शकहरूले टेलिभिजनमा जस्तै ट्याब्लेट, कम्प्युटर र सेलफोनमा कार्यक्रमहरू हेर्न सक्ने स्थिती बनेको छ । हिजो बिग साईज टिभी सेटको स्थान क्रमिक रुपमा हाते मोबाईलले लिदै गएको छ । इन्टरनेटको पहुँच बिस्तारसँगै टेलिभिजन कार्यक्रमहरु आफुले चाहेको बेलामा हेर्न सक्ने माहौल सिर्जना भएको छ । हातको औंलाको सहायताले कम्प्युटर, मोबाइल फोनबाट पनि जुनसुकै बेलामा अपलोडेड कन्टेन्ट हामीले हेर्न सक्छौ । त्यसो त वेबसाईटमा लाईभ स्ट्रिमिङ होस् कि ओटीटी प्लेटफर्म टेलिभिजन कार्यक्रमलाई हामीले आफुले चाहे बमोजिम र अनुकुलता अनुसार पनि हेर्न सकिन्छ ।
यसरी २० औं शताब्दिमा आएको टेलिभिजनले जीवन जगतका बारेमा जानकारी प्रदान गर्ने आमसंचारका रूपमा आफुलाई प्रतिष्थापन गरेको छ । मनोरञ्जन, समाचार र शैक्षिक सामग्रीबाट पस्कदै आज हाम्रो दैनिक जीवनको अविभाज्य अंग बनेको छ टेलिभिजन । हामीले हाम्रो रुचि अनुसार च्यानलहरु ट्युन गर्दै जानकारी वा मनोरंजन लिन सक्ने वातावरण आजको युगमा छ ।
टेलिभिजनले जगतको बारेमा हाम्रो धारणा तयार गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ। यसले हामीलाई विभिन्न संस्कृति, परंपरा र मुल्यहरू बारे ज्ञात गराउँछ । यसको परिणामस्वरूप, हामी विश्वभरी हुने महत्वपूर्ण कार्यक्रम, राजनीतिक परिवर्तनहरू र सांस्कृतिक आंदोलनहरूलाई सहजै देख्न सक्षम भएका छौँ ।
यसले हामीलाई मनोरञ्जन गर्न, अनुभव साझा गर्न, विचार सम्प्रेषण गर्न र नविन बिषय सिक्न सिकाउन अवसर प्रदान गर्छ। टेलिभिजनले शिक्षामा पनि महत्वपूर्ण भूमिका निभाएको छ। बाल लक्ष्यका शिक्षा कार्यक्रमहरूले विद्यार्थीहरूमा स्मरणशक्ति र सांस्कृतिक जागरूकता प्रदान गरेको छ । सक्षम र क्षमतावान नागरिक उत्पादनमा टेलिभिजनले निकै महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
पछिल्लो समयमा नयाँ मिडियाको उदयसँगै श्रब्यदृष्यको खपतको ट्रेण्डमा उछाल आएको छ । यद्यपि आज पनि टेलिभिजन कार्यक्रमको महत्व उत्तिकै छ । अपवाद बाहेक परिवारसँगै बसेर हेर्न सकिने सामाग्री टेलिभिजन च्यानलमा पाईन्छ । आम संचारले सत्य, तथ्य र निष्पक्ष रुपमा समाचार सामाग्री सम्प्रेषण तथा पारिवारिक वातावरण माझ श्रब्य दृष्य हेर्न सकिने गरि आफुलाई प्रस्तुत गर्नुपर्छ भन्ने मान्यताले आम दर्शकमाझ टेलिभिजनको साँख अद्यापि बरकरार छ । च्याउ सरि आएका सोसल मिडियाका कन्टेन्टले दर्शकलाई दिग्भ्रमित पारिरहेको अहिलेको सन्दर्भमा सुचना भन्दा भद्धा मनोरंजन र नङनताले प्रश्रय पाईरहेको देखिन्छ । यसकारण पनि आजको युगमा जिम्मेवार मिडिया आउटलेटका रुपमा टेलिभिजनले भूमिका खेल्न सक्छ । शासकलाई खबरदारी गर्ने देखि समाजका जीवण्त तस्बिरलाई आम दर्शक माझ राख्ने र मनोरंजन दिलाउनेसम्मका काममा टेलिभिजन अझै पनि विश्वसनीयताका आधारमा अन्य मिडिया भन्दा सशक्त माध्यमका रुपमा स्थापित छ ।
यस माध्यमले हाम्रो जीवनमा पार्ने प्रभावलाई मान्यता दिने महत्त्वपूर्ण अवसरका रुपमा हामीले विश्व टेलिभिजन दिवसलाई लिनु पर्दछ । टेलिभिजनले हामीलाई मनोरञ्जन, शिक्षा र सूचना प्रदान मात्रै गरेको छैन्, विचार र भावनालाई एकत्रित गर्दै एकताको सुत्रमा बाँधेको पनि छ र समाज र ब्यक्तिको विकासलाई सहायता गरेको छ। यसले विश्वलाई खुम्च्याउदै मानिस बीचको दुरीलाई कम गर्दै नजिकता बढाएको छ । आफ्नो अनुभवहरूलाई साझा गर्न सशक्त माध्यमका रुपमा टेलिभिजन दृष्यमा छ ।