News Desk
सरोज ओझा
-ललितपुर
आवरणबाहिरको
सदावहाँरको हासो
र त्यो बास्नादार अत्तर
अनी सज्जाले लिपिएर पनि
रङ्गहिन अन्तर्यमा
गुज्रिरहेका चोलाहरु
रङ्गहरुको लालित्यमा
लुटपुटिएर
गर्विलो भविष्यको खोजीमा
प्रतिक्षारत, सोचमग्न
र संघर्षरत मनुवाहरु
के तिमी भन्न सक्छौ ?
कति कठोर छ समय
कति कठोर छ दुनियाँ
मानवरुपी हृदयहरु
अनि कति फिक्का छन रङ्गहरु !
बाहिरी दुनियाँले
देख्ने वहारहरु
र तिम्रो सदावहार
मुस्कानको बयानभित्र
तिमीले लुकाएर
राखेका पिडाहरु
तिमीभित्रको वेचैनी
तिमी भित्रको दुखाई
तिम्रो मनको वेदना
तिम्रो मनको रुवाई
के तिमी
बयान गर्न सक्छौ ?
तिम्रा
रङ्गिन सपनाभित्रका
स्वप्नहिन जीवनका भोगाईहरु !
ए रङ्गहिन रङ्गिन मान्छे
के तिमी
अभिव्यक्त गर्न सक्छौ ?
सांसारिक आडम्बरको
खोल ओडेर
तिमीले बिताएका
कठोर दिन अनि रातहरु
रङ्गिन दुनियाँभित्र
दवाब र अभावहरु
लुकेका छिपेका
अनि दविएका, दबाईएका
कठोरतम पलहरु !
ए रङ्गहिन रङ्गिनहरु,
के तिमी बयान गर्न सक्छौ ?
आकाशको छेलमा
चार किल्ला, पर्खालभित्र
चिरिच्याट्ट अलिशान महल
चोटा र कोठाहरुभित्रका
वास्तविक कथा
तिमीले भोग्दै आएका
अभाव
यो देखावटि रवाफ
देखावटी ठाँट
तिता अनुभवहरु
के सम्झन सक्छौ ?
नमिठा अतितहरु
आफुभित्रको क्रन्दन
अनि
आफुभित्रको अश्रु आशुहरु
हतासिएका डोबहरु
र डगमगाएका तिम्रा चालहरु !
ए रङ्गहिन रङ्गिन मान्छे
के तिमी बयान गर्न सक्छौ ?
जीवनका उछालहरु
जीवनका भुईचालहरु
अनि बेला बेला
मनमा
गईरहने पराकम्पन्न
र आईरहने छालहरु
हुरी बतास अनि
सन्त्रासले ल्याउने हतास !
के अलाप्न सक्छौ ?
बेहाल समयको पिडा
अनि,
रङ्गिन मान्छेको रङ्गहिन दुनियाँ
वास्तवमा
तिमीले चढेका
विघ्न दुस्खका पहाड
अटटाहस र पिडा लुकाएर
जीवनको क्यानभासमा
लाली पोतेरै भएपनि
सुवास छर्दै बास्नादार
जीवन जिउने तिम्रो कला
महान छ !
ए ! रङ्गहिन रङ्गिन मान्छे
तिमी आँफैमा महान छौँ
भुंग्रोको आगोमा जल्दै गरेको
कोईला जस्तै
आभाविहिन ज्वालामुखीको
मुस्लो र लाभा जस्तै
आफु भित्रभित्रै पिल्सिएर पनि
दन्किएर चमकदिने
सामर्थ्य देखाएर
अरुलाई सुखै सुख
खुशी नै खुशी बाड्ने
तिमी,
रङ्गहिन रङ्गिन मान्छे
तिमीलाई सलाम छ !
लाख लाख सलाम छ ! !