बङ्लादेशबाट पाठ सिक्ने कि ?
News Desk
Aug-09 , 2024 तारिख 08:32 बिहान

- मुकुन्द पौडेल  

राजनैतिक नेतृत्वमा पैदा हुने सत्तालिप्सा र भ्रष्टाचारले मुलुकलाई कुन हदको आन्दोलन र जनधनको क्षतिको अबस्थासम्म पु-याउछ भन्ने कुराको उदाहरण हालैको बङ्गलादेशमा घटेको घटनाले देखाउँछ। हुन त विगतमा नेपालले पनि त्यो पीडाको अनुभव नगरेको होईन। कुनै पनि परिवर्तनको लागि आन्दोलन जरुरी होला तर सबै आन्दोलनले सकारात्मक परिणाम दिन्छ भन्ने हुँदैन । कतिपय आन्दोलनले यौटा तानाशाह हटाएर अर्को तानाशाहलाई स्थापित गर्ने गरका धेरै उदाहरणहरु छन् हाम्रै वरपर पनि। तर बङ्गलादेशको यतिखेरको घटनामा भने नोवेल शान्ति पुरस्कार विजेता युनुसको सत्ता आगमनले कमसेकम तत्कालका लागि त्यो जोखिम भने टरेको देखिन्छ।

हिजोका दिनसम्म जे त भयो भयो अब सम्हालिए जाती हुन्थ्यो बङ्गलादेश । यौटा असल छिमेकीको नाताले नेपालको पनि यही चाहना छ र कामना छ। करिव करिव राष्ट्रिय सहमतिको आधारमा बनेको अबको नेतृत्व नोवेल शान्ति पुरस्कार विजेता महमद युनुसको हातमा आएको छ यसलाई सकारात्मक सङ्केत मान्नुपर्छ । यसबाट बङ्लादेशी जनतामा थोरै भए पनि भरोसा जगाएको हुनुपर्दछ।

हिजोका दिनमा पूर्व प्रधानमन्त्री श्रीमती शेख हसिनाका के के कमी कमजोरी रहे र किन आन्दोलनको अबस्थामा पुग्यो बङ्गलादेश ? त्यसको गोडमेल हुँदै गर्ला तर आन्दोलनका बखत भएका लुटपाट र तोडफोड भने अक्षम्य खालका थिए। बङ्गलादेशका निर्माता शेखमुजिब रहमान तथा विश्व साहित्यका शिखर पुरुष रबिन्द्रनाथ टैगोरका शालिक तोडिएको तस्बिर देख्दा भने सारै नै मन कुँडियो। टैगोरको शालिक पहिले नै तोडिएको हो भन्ने कुरा पनि आएको छ । जे होस् रहमानको मात्रै तोडिएको भए पनि राष्ट्रपिताको शालिक तोडिनु गलत । हुन त आन्दोलनका बखत नेपालमा पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त आचार्य, जननेता वी पी कोइराला गणेशमान सिंह लगायतका महापुरुषहरुका पनि शालिक माथि धावा बोलिएको थियो। जहाँसुकैहोस आन्दोलनका नाममा हुने यो प्रकारको अराजकतालाई भने कदापि स्वीकार्न सकिन्न र जायज मान्न सकिन्न। नजाने दक्षिण एसियामा हालका दिनमा यस्ता घटना किन भैरहेका छन् त्यसको व्याख्या विश्लेषण हुनै पर्दछ। शासकहरुको अकर्मण्यता भ्रष्टाचार मात्र हो कि अरु पनि भूराजनीतिक खेल छन् यस भित्र बुझ्न ढिला गर्नुहुँदैन। यस घटनाबाट नेपालले पनि पाठ सिक्नुपर्छ। न कि तिनै अफगानिस्तान,श्रीलङ्का वा हालैको बङ्गलादेशको जस्तो नियति भोग्न नपरोस्। त्यसैले बङ्लादेशबाट सिक्ने कि ? त्यही हविगत भोग्ने दिनको प्रतिक्षा गर्ने ? निर्णय हाम्रा उच्च नेताले बेलैमा गरुन् । अराजक भिडले विगतका योगदानको कदर भन्दा लहडमा काम गर्ने हुँदा अप्रिय अवस्था नेपालमा पनि आउन सक्ने सम्भावनालाई हामीले नजरअन्दाज नगर्दै राम्रो । सच्चिनु मै भलाई छ । अस्तु ।  

(तनहुँको रिस्ती बाहुन पोखरामा जन्मनुभएका पौडेल कवि एवम् गीतकार हुनुहुन्छ )