News Desk
-सरोज ओझा
प्रतिष्ठित उद्योगपति एवं व्यापारीका अलवा कुशल राजनीतिज्ञ, समाजसेवी,भाषासेवी र धर्मसेवी लक्ष्मीदास मानन्धर एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । जसको जन्म वि.सं. १९८४ मंसिर ४ गतेका दिन काठमाडौं स्थित ठहिटिमा भएको थियो । माता पूर्णमाया तथा पिताको लक्ष्मीनारायण मानन्धरका साईला सुपुत्रका रुपमा उहाँले यस धर्तिमा पाईला टेक्नु भएको थियो । लक्ष्मीदासले गुभाजुकोमा गएर अक्षर चिन्ने काम गर्नु भई मध्यमा तहसम्मको अध्ययन गर्नुभएको थियो । उहाँले १५ वर्षको कलिलो उमेरमै काठमाडौं त्रिपुरेश्वर स्थित टेलिफोन अड्डामा टेलिफोन अप्रेटरका रुपमा काम गर्न शुरु गर्नु भएको थियो । ततपस्चात् उहाँले वि.संस २००६ सालमा मुखियाको तहमा रहेर खाद्य संस्थानमा जागिर खान थाल्नुभयो । यसको केहि अन्तराल पश्चात उहाँले खरिदारको तहमा पदोन्नति पाई विभागीय प्रमुखको भुमिकामा रहेर जिम्मेवारी सम्हाल्नु भएको थियो । व्यापारी पृष्ठभुमि बोकेको नेवार कुलमा जन्मनु भएका उहाँ सरकारी काम काजमा मात्र अडिन् सक्नु भएन र यस माझमै उहाँले जागिरे जीवनसँगसँगै २००७ सालमा गएर नुनको कारोवारमा आफुलाई होम्नुभयो । तत्कालीन समयमा उहाँले भारतस्थित साँवरबाट नुन ल्याई नेपालमा विक्रि वितरण गर्नुहुन्थ्यो । यस प्रयोजनका निम्ति उहाँले विरगंजमा डिपो समेत संचालन गर्नुभएको थियो । निजी लगानीमा व्यापारमा हातहालेको करिव ४ वर्षको अन्तराल पश्चात् पुर्णतया व्यापार व्यवसायमा नै लाग्ने प्रणका साथमा उहाँले तत्कालीन समयमा आकर्षक मानिने विभागिय खरिदार तहको जागिर समेत छाड्नुभयो । ततपश्चात उहाँले जापानबाट रेडिमेड कपडाहरु आयात गरि नेपालमा विक्रि वितरण गर्न थाल्नुभयो । लक्ष्मीदास मानन्धरले वि.सं. २०१७ सालमा आएर नेपाल निटिङ्ग इन्डष्ट्रि नामक उद्योगको स्थापना गरि नेपालमै पहिलो पटक मोजा कारखाना संचालनमा ल्याउनु भयो । उक्त उद्योगद्वारा उत्पादित बाघ छाप व्राण्डको मोजा तत्कालीन समयमा अत्याधिक लोकप्रिय बन्न पुग्यो । साथै त्यसबखत नेपाल मोजामा आत्मनिर्भर बन्न पुग्यो भने भर्खर भर्खर जग हाल्दै गरेको नेपालको अर्थतन्त्रमा समेत यसले टेवा पु¥यायो ।
त्यसो त लक्ष्मीदास मानन्धर नुनको कारोवारमा समेत संलग्न रहदै आउने क्रममा सरकार र निजी क्षेत्रको आर्थिक लगानी सहित सार्वजनिक निजी साझेदारी अन्तर्गत बि.स २०२० साल भाद्र २७ गते साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको स्थापना हुन पुग्यो । जसमा निजी क्षेत्रबाट अन्य ६ जना नुनका कारोबारी सहित लक्ष्मीदास मानन्धर समेत समेटिनुभयो र साल्ट ट्रेडिङको संस्थापक संचालक बन्नुभयो । साल्ट ट्रेडिङको संचालक समितिमा रहेर उहाँले आमजनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सेवामुखी व्यापार र उद्योगको प्रबर्द्धनमा योगदान पुर्याउनुभयो । साठिको दशकबाट उहाँले कर्पोरेशनको संचालक समिति अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । उहाँले कर्पोरेशनलाई जनहितका काममा लाग्न प्रेरित मात्र गर्नुभएन कि, सबल नेतृत्व समेत प्रदान गर्नुभयो । सामुहिक भावनालाई आत्मसात गर्दै उहाँ र उहाँसँगै रहेका व्यवस्थापन सारथीहरुको अविचलित र दृढ संकल्पले फलत: नेपालमा जनमुखी बजार अर्थतन्त्रको जगलाई मजबुत तुल्यायो । चाहे त्यो जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँचलाई आमसर्वसाधारणसम्म सहज रुपमा पुर्याउने सवाल होस् वा बजारमा आईपर्ने कृतिम अभाव, कालोबजारी, महंगी नियन्त्रण यसमा उहाँको योगदान पनि अतुलनिय रह्यो । भुकम्प, नाकाबन्दी, प्राकृतिक प्रकोप जस्ता प्रतिकुल अवस्था र बिशेष महत्वका चाडबाडका बखत आदीमा पनि कर्पोरेशनले दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिई जनजीवनलाई सहज तुल्याउदै आएको छ । यस कार्यमा उहाँ समेतको योगदान प्रशंसनिय रहदै आएको पाईन्छ । यसका अलवा पनि उहाँले साल्ट ट्रेडिङद्वारा प्रबर्धित विभिन्न उद्योग एवं कंपनिहरु जस्तै सगरमाथा ईन्स्योरेन्स, नेपाल मैदा मिल आदिको बोर्डमा विभिन्न भुमिकामा रहदै कार्य गर्नुभयो । यसरी उहाँले आमउपभोक्ता र सरकारको सारथीको भएर काम गर्नुभयो ।
लक्ष्मीदास मानन्धरले २०२५ देखि २०३० साल बीचमा भैरहवामा व्यापार कर्पोरेट प्रवर्द्धित पेट्रोल पम्प, सिद्धार्थ कोल्ड स्टोरेज, नेपाल प्लाष्टिक उद्योग र सिद्धार्थ खाद्य उद्योग गरि विभिन्न प्रकृतिका उद्योगहरु संचालनमा ल्याउनुभयो ।लक्ष्मीदास मानन्धरले विभिन्न वित्त कंपनीमा समेत लगानी गर्नुभयो । त्यस क्रममा नारायणी फाईनान्स र नेशनल फाईनान्सको संचालक समितीको अध्यक्षका रुपमा समेत उहाँले जिम्मेवारी वहन गर्नुभएको थियो ।यसका अलवा पनि उहाँले साल्ट ट्रेडिङ्गद्धरा प्रवर्द्धित विभिन्न उद्योग एवं कंपनिहरु जस्तै सगरमाथा ईन्स्योरेन्स, नेपाल मैदा मिल आदिको बोर्डमा विभिन्न भुमिकामा रहदै कार्य गर्नुभएको थियो । मानन्धरले यसरी भर्खर भर्खर जग हाल्दै गरेको नेपालको अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन अतुलनिय योगदान पुर्याउनुभयो ।
लक्ष्मीदास मानन्धरले व्यपार व्यवसायमा हात हाल्दै गर्दा विभिन्न पेशागत संगठनहरुमा समेत संलग्नता जनाउनुभएको पाईन्छ । उहाँ होजियारी उत्पादन संघको संस्थापक सदस्य हुदै अध्यक्ष, नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्य हुदै कोषाध्यक्ष र सल्लाहकारका रुपमा रहेर लामो समयसम्म महासंघमा आवद्ध रहनुभयो । उहाँ महासंघको अध्यक्ष पदको प्रत्याशी समेत बन्नुभयो । त्यसो त उहाँ उद्योग व्यापार महाँसंघको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । व्यवसायिक क्षेत्रको उन्नयन र विकासका लागि यसरी अनवरत तबरले लागि पर्दै आएका यि यावत सन्दर्भहरुले उहाँ एक लगानीकर्ता हुनुका साथै उद्योगी व्यापारीहरुको एक प्रभावशाली नेता रहेको कुरा स्पष्ट पार्दछ ।
लक्ष्मीदास मानन्धर व्यापार व्यवसाय मार्फत मुलधारको राजनीतिमा समेत संलग्न रहदै आउनु भएको पाईन्छ । रहरले भन्दा पनि नियतिले उहाँलाई राजनीतिमा डो¥याएको हो । २०१५ सालदेखि वामपन्थी राजनीतिमा अप्रत्यक्ष रुपमा संलग्न रहदै आउनुभएका उहाँ वि.सं. २०४८ सालमा संपूर्ण बामपन्थी पार्टीहरुको सामर्थनमा राष्ट्रिय सभा निर्वाचनमा सदस्यको साझा उम्मेद्धार वन्नु भएको थियो । यद्यपि उहाँ एकमतको झिनो अन्तरले पराजित बन्नपुग्नु भयो । तर २०५८ सालमा भने उहाँ एमालेको समर्थनमा राष्ट्रिय सभा सांसदका रुपमा चुनिन् सफल रहनुभयो । त्यसैगरी उहाँले २०६८ सालमा समेत अन्तरिम संसदमा प्रवेश पाउनुभई एक वर्षसम्म उद्योग व्यवसाय समितीको सभापतिको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्नुभएको थियो । यसरी राजनीति र व्यवसायमा उहाँ बरोबर रुपमा सक्रिय रहनुभयो । जुन सिलसिला उहाँ जिवित रहुन्जेलसम्म पनि जारी नै रह्यो।
उद्योगपती र राजनीतिज्ञका अलवा पनि लक्ष्मीदास मानन्धर एक अग्रज शिक्षासेवी, भाषासेवी, समाजसेवी र धर्मसेवी समेत हुनुहुन्थ्यो । शैक्षिक क्षेत्रको हकमा कुरा गर्नु पर्दा यस क्षेत्रको उन्नयनमा समेत लक्ष्मीदास मानन्धरको अतुलनिय योगदान रहेको पाईन्छ । वि.सं. २००७ सालमा घर छेवैमा स्थापित शान्ति शिक्षा मन्दिर विद्यालयको संस्थापक मध्येका एक उहाँ पिपुल्स कलेज र जगतसुन्दर वोनेकोथीको संस्थापक हुनुहुन्छ । साठिको दशक देखी करिब दुई दशकसम्म उहाँ पिपुल्स कलेजको अध्यक्ष समेत रहनुभयो। उहाँले विराटनगर स्थित मनमोहन पोलिटेक्निकल कलेजमा समेत लगानी गर्नुभएको थियो । जसमा उहाँले कोषाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भयो । २००७ साल देखि हालसम्म आईपुग्दा उहाँले विभिन्न शैक्षिक संस्थाहरुको उन्नयन र विकासको निम्ति सक्दो सहयोग पु¥याउनु भयो ।
त्यसो त लक्ष्मीदास मानन्धर अन्य विभिन्न सामाजिक एवम् धार्मिक संघसंस्थाहरुमा समेत आवद्ध हुनुहुन्थ्यो । उहाँले लुम्विनी विकास कोष र मनमोहन प्रतिष्ठानको कोषाध्यक्ष, धर्मोदयसभाको वरिष्ठ उपाध्यक्ष र कुष्ठरोग निवारण संघको अध्यक्षको जिम्मेवरी समेत सम्हाल्नुभएको थियो । त्यसैगरि उहाँ नेपाल रसिया मैत्री संघको सल्लाहकार साथै नेपाल रसिया कल्चर संघको पूर्व उपाध्यक्ष समेत हुनुहुन्थ्यो । त्यसो त उहाँले विश्व बौद्ध शिखर सम्मेलनमा नेपाल सरकारको दुतका रुपमा रहेर समेत काम गर्नुभएको थियो । त्यस दौरानमा उहाँले आफ्नै खर्चमा विभिन्न देशको भ्रमणमा निस्कनु भई विभिन्न देशका राष्ट्र एवम् सरकार प्रमुख तथा अधिकारीहरुलाई भेटि शिखर सम्मेलनमा भाग लिन आमन्त्रण गर्नुभएको थियो । यसका अलवा लक्ष्मीदास मानन्धर जीवन पर्यन्तसम्म बुद्धजन्मस्थल लुम्बिनी साथै बौद्ध धर्म परम्पराको जगेर्ना गर्न अनवरत रुपमा लागि पर्नुभयो छ। साथै उहाँले सामाजिक एवम् धार्मिक कार्य अन्तर्गत रोग, भोक र शोकमा रहेका मानिसहरुलाई आर्थिक सहयोग उपलब्ध गराउदै उनीहरुको चर्याइरहेको घाउमा मलम लगाउने तथा धार्मिक मठ मन्दिर, गुम्बा र अन्य गतिविधी, सामाजिक संघ संस्था आदीलाई सकेको सहयोग पुर्याउने काममा कुनै खालको कन्जुस्याई गर्नु भएन ।
उसैगरि, नेपाल भाषा सहित नेवारी संस्कृतिको संरक्षण एवम् सम्बर्धनका निम्ती जीवनकाल भर कटिबद्ध भएर लाग्नुभयो लक्ष्मीदास मानन्धर । नेपाल भाषा एकेडेमी र नेपाल दे दबुका संस्थापक उहाँले दुवै संस्थामा कोषाध्यक्ष, जगत सुन्दर वोनेकोठीको संस्थापक अध्यक्ष र नेपाल भाषा परिषदको कार्यसमितीमा रहेर सेवा समेत गर्नुभयो । तसर्थ पनि लक्ष्मीदास मानन्धरले विभिन्न संस्थाहरुमा आवद्ध रहदै र व्यक्तिगत तबरबाट पुर्याउनु भएको योगदान उस्तै सम्झनागर्न लायकका छन् ।
लक्ष्मीदास मानन्धरले जीवनकाल अवधीमा विभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका सभा सम्मेलन, सेमिनार एवम् राजकिय भेटघाटमा सहभागीता जनाउनुभयो । त्यसक्रममा उहाँ अमेरिका, चीन, रसिया, फ्रान्स, स्वीजरल्यान्ड लगायतका करिव ४० वटा देशसम्म पुग्नुभयो । उहाँ जुन देश पुगेता पनि नेपालको पर्यटन प्रवर्धनका निम्ति आफ्नो स्थानबाट यथाशंभव प्रयत्नशील रहदै आउनु भयो ।
लक्ष्मीदास मानन्धर वास्तवमै निष्ठावान व्यक्तित्व हुनुहुन्छ । उहाँ व्यापार व्यवसायका अलवा पनि राजनीति र समाजसेवा मार्फत देशको समृद्धिका खातिर अहोरात्र खटिनु भयो । उद्योग व्यापार राजनितीमा संलग्न रहेर पनि निण्कलङ्कन र विवादरहित व्यक्तित्वको छवि बनाउन सक्नु अवश्य पनि चानेचुने कुरा होईन । यथापि उहाँले यसलाई सार्थक तुल्याउनु भयो । कर्मशिल व्यक्तित्व उहाँले आफुलाई प्रतिष्ठित उद्योगपति एवं व्यापारी र राजनीतिज्ञका अलवा अग्रज शिक्षासेवी, समाजसेवी, धर्मसेवी र भाषासेवीका रुपमा स्थापित गराउन सफल हुँदै बहुआयामिक व्यक्तित्वको छवी निर्माण गर्न सफल हुनु भयो ।
त्यसो त उहाँले आफ्नो जीवनमा पु¥याउनु भएको योगदानको कदर गर्दै उहाँलाई विभिन्न समयमा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका संघ संस्था एवं नेपाल सरकार समेतले पदक सहित सम्मान गरेका उदाहरण प्रशस्त मात्रामा भेट्न सकिन्छ । लक्ष्मीदास मानन्धरले पुर्याउनु भएको योगदानको कदर स्वरुप नेपाल सरकारले गोरखा दक्षिण वाहु पहिलो, दोस्रो र तेस्रो गरि तीन वटा तक्माबाट विभुषित गरेको थियो भने उहाँले ईन्टरनेशनल फरेन भोलुन्टियर्स एशोसिएसनबाटबाट सुनको तक्मा, अमेरिका स्थित कनेक्टिकेट्स युनिवर्सिटीबाट विशेष सम्मान र जापान स्थित हिखिबा संस्थाबाट अवार्ड सहितको सम्मान प्राप्त गर्नुभएको थियो । यी वाहेक पनि उहाँ अन्य थुप्रै सम्मान एवं पदकबाट विभुषित हुनुभयो। त्यसो त मानन्धरले समाजसेवा मार्फत देश र जनतालाई देखाउदै आउनु भएको सदासहायता र उदारताले पनि उहाँको व्यक्तित्वलाई थप रुपमा उजागर गर्ने काम गर्दछ ।
यसरी उद्योग र व्यापारसँगसँगै राजनीति, भाषा, धर्म र समाजसेवा जस्ता सामाजिक कार्यमा कृयाशिल रहदैगर्दाको अवस्थामा बि. स. २०७८ साल माघ ०६ गते ९३ बर्षको उमेरमा उहाँले यस धर्तीबाट बिदा लिनुभयो । निधन भएको भोलीपल्ट अर्थात माघ ०७ गते उहाँको पार्थिव शरीरको शवयात्रा गराई शोभाभगवतीमा अन्तिम श्रद्धांजलीका लागि राखिएको थियो । जहाँ उहाँको अन्तिम बिदाईमा घरपरिवारका सदस्य र साल्ट ट्रेडिङ परिवारका अलवा पूर्व मन्त्री, सांसद, राजनीतिज्ञ, उद्योगपती, उपभोक्तावादी, समाजसेवी,भाषासेवी, धर्मसेवी एवम् शुभेच्छुकहरुको बाक्लो उपस्थिती रहेको थियो । कोभिडको उच्चजोखिम रहदारहदै पनि उच्च सतर्कताका साथ स्वतस्फुर्त रुपमा उहाँको अन्तिम बिदाईका लागि त्यहाँ उपस्थित मानवसागरले उहाँको सार्थक जीवनको पाटोलाई उजागर गर्दछ ।
विभिन्न क्षेत्रमा कृयाशिल रहदै समाज र राष्ट्रको समुन्नती निम्ती समर्पित भएर लाग्नु भएका उहाँ वास्तवमै सामाजिक चेतका धनी हुनुहुन्थ्यो । उद्योग व्यापारको क्षेत्रमा लाग्दै गर्दा नाफामुखी भन्दा पनि सेवामुखी व्यापारलाई लक्ष्मीदास मानन्धरले आफ्नो लक्ष्य बनाउनुभयो । उद्योग व्यापार होस् या यावत सामाजिक कार्य उहाँको तनमन सदैव राष्ट्रहितमा समर्पित रह्यो । उहाँ जति सरल हुनुहुन्थ्यो उत्तिकै असल र ईमान्दार पनि हुनुहुन्थ्यो। आफुलाई भन्दा पनि समाज र राष्ट्रलाई प्राथमिकतामा राख्नु नै उहाँको महानता हो । यसरी उहाँले सार्थक जीवन जिउँदै नेपाली समाज साथसाथै समग्र मानव समुदायमा जुन खालको छाप छोड्नु भएको छ यो हामी सबैका निम्ती अनुकरणीय छ भन्दा अवश्य पनि अत्युक्ति नहोला । बहुआयामिक व्यक्तित्वका धनी देशभक्तीले ओतप्रोत स्वर्गिय लक्ष्मीदास मानन्धरप्रति हार्दिक श्रद्धांजली ।