News Desk
ललितपुर । अभिनेता राज घिमिरेले आफुले वडा अध्यक्ष चुनाव जितेमा वडा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् । ‘म विजयी भएपश्चात ५ वर्षसम्म कुनैपनि सरकारी सवारी साधनको सुबिधा, तलब, भत्ता, सेवा सुविधा लिने छैन’ उनले अगाडि भनेका छन् ‘त्यो रकमले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि खर्च गर्नेछु ।’ उनले उक्त पैसाले आर्थिक अभाव भएका रोगी मानिसहरुको उपचारमा समेत खर्च गर्ने जनाएका छन् ।
घिमिरे नेकपा माओवादी केन्द्रका तर्फबाट गोदावरी नगरपालिका वडा नं ३ को वडा अध्यक्ष उम्मेदवार बनेका हुन् । गत स्थानीय निर्वाचनमा पनि उनी गोदावरी नगरपालिका वडा नं ३ को नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए । फिल्म ‘चपली हाइट’ बाट अभिनेताको रुपमा सर्वत्र चिनिएका उनी पछिल्लो समय समाजसेवामा सक्रिय छन् । उनले केही फिल्म र थुप्रै म्युजिक भिडियो समेत अभिनय गरेका छन्