भण्डारीको सम्पर्क कार्यालयमा हिन्दू राष्ट्र पक्षधर कांग्रेसका कन्द्रीय सदस्यहरुको बैठक
News Desk
Dec-13 , 2023 तारिख 10:10 बेलुका

काठमाण्डौं,२७ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठक तयारी भईरहेको बेला कांग्रेस भित्र वैदिक सनातन हिन्दू राष्ट्र पक्षधर नेताहरुको सक्रियता बढ्न थालेको छ ।

यसै सिलसिलामा बुधबार वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डाको पक्षमा वकालत गर्दै आईरहेका केन्द्रीय सदस्य शंकर भण्डारीको पानी पोखरी स्थित सम्र्पक कार्यालयमा हिन्दू राष्ट्र पक्षधर केन्द्रीय सदस्यहरुको बैठक बसेको छ । बैठकमा केन्द्रीय सदस्य भण्डारी सहित केन्द्रीय सदस्यहरु देवेन्द्रराज कंडेल, पुष्पा भूषाल ,गेहेन्द्र गिरी र चन्द्र के.सी. लगायतका नेताहरुको सहभागिता रहेको थियो । बैठकमा पार्टीका नेता स्व.खुमबहादुर खड्काले अगाडि सार्नु भएको वैदिक हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टी भित्र सशक्त ढंगले उठाउनुपर्नेमा केन्द्रीय नेताहरुले जोड दिएका थिए ।  

पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा समेत वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको विषयमा लचक भएको विषयलाई बैठकमा सकारात्मक रुपमा लिईएको थियो । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको बैठकको अगुवाई गरेका के.स.भण्डारीले बताए । “पार्टीमा महासमिति बैठकको तयारी भईरहेको छ ,उक्त बैठकमा वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डा पेश गर्ने तयारी भईरहेको छ ।”त्यसैको पूर्वसन्ध्यामा साथीहरुसंग छलफल गरिएको हो'के.स.भण्डारीले भने ।

धेरै पढिएको