News Desk
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन।
शुक्रबार काठमाडौंमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन। उनले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको बताए।
उनले सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरु पनि सन्तोषजनक नरहेको बताए। उनले अहिलेको सरकारले संविधानलाई पूर्ण रूपमा बेवास्ता गरेको बताए। उनले संविधान संशोधन गर्न भनेर ०८७ सम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने? भन्दै प्रश्न गरे।
उनले भने, ‘वास्तवमा यो सरकारले जन अपेक्षाहरु पूरा गर्न सकेको छैन। यो सरकार जनतालाई सुशासन दिन सकेको छैन, रोजगारी प्रवद्र्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन। समाजमा सकारात्मक सन्देश दिन सकेको छैन। त्यसैले यो सरकार असफल छ। संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको छ। संविधान संशोधन गर्ने जस्तो विषयमा अरु कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन। यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुपर्यो। प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने? यसको जवाफ दिनुपर्यो।’
अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको मतलव विकल्पमा तयार छौँ भन्ने नरहेको जिकिर गरे। सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरुले सडक संघर्ष गर्ने बताए।