News Desk
वीरगञ्ज – जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताउनु भएको छ ।
आज पर्साको वीरगञ्ज स्थित पुजन होटलमा आयोजित जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “हामी देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न सहित देश विकासका लागि राजनितीमा होमिएका छौँ । बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सक्छौँ ।”
यसैगरी मन्त्री यादवले आम नागरिकलाई सर्वोपरि ठानेर मधेशका मुद्दा एवम् देशभरीका नागरिकका समस्या समाधानका लागि जनता समाजवादी पार्टी (जसपा) ले उल्लेख्य भुमिका निर्वाह गरीरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा लागि जनता सर्वोपरि हुँन । जनताको विकास र जिवन स्तर अकास्न हामी कहिले पछि पर्ने छैनौँ ।”
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा पनि सहभागि भएपछि लोकप्रिय, जनमुखी र परिणामदायी काम भइरहेको मन्त्री यादवले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सरकारमा सहभागि भएपछि नागरिकका खानेपानीका थुप्रै समस्या समाधान गरेका छौँ, कतिपय काम अझै गर्न बाँकी छ । देशभरीका खानेपानीका समस्या समाधान गरेर छाड्ने छौँ ।”
“नेपाली नागरिकको विकास, हक हितका लागि जसपा जन्मिएको हो । ढुक्क हुनुस्, मधेस सहित समग्र देश विकास अब जसपाले गर्छ ।” मन्त्री यादवले भन्नुभयो । नेपाली नागरिकका समस्या समाधानका लागि सिङगो पार्टी लागि पर्ने उहाँको भनाई थियो ।
एक छुट्टै प्रशङ्गमा मन्त्री यादवले खानेपानीको लागि पर्याप्त बजेट नहुँदा देशभरीमा आम उपभोक्तालाई सहज रुपमा शुद्ध खानेपानी पुर्याउन समस्या भएकाले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरघरमा शुद्ध अनी सफा खानेपानी पुग्ने गरी बजेट विनियोजन गराउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले मन्त्रालय सम्हालेदेखि देशका दुर्गम क्षेत्रमा खानेपानीका समस्याका विषयमा स्थलगत निरीक्षण गरेको छु । पानीको निकै समस्या रहेको पाएको छु । वर्तमान सरकार अगामी बजेटमा हिमाल, पहाड र तराईका नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेटको व्यवस्थापन गर्ने छ ।”
काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी खुवाउनका लागि सबै प्रक्रिया भइसकेकाले अब आउँदो वर्षातको समयमा मेलम्चीको पानी बन्द नगरिने समेत जानकारी गराउनुभयो । आफु मन्त्री भएपछि देश भरीका खानेपानीका रोकिएका आयोजनाहरु पुन: सञ्चालनका लागि काम भइरहेका र नयाँ आयोजनाहरु निर्माणका लागि टेण्डर आह्वान गरिने कार्य समेत भइरहेको जिकिर गर्नुभयो । वर्षातको समयमा बाढी पहिरोका कारण करोडौँका खानेपानी योजनाहरुका क्षती पुगेकाले क्षती भएका ती खानेपानीका आयोजनाहरु पुन: निर्माणका लागि तीब्र गतीमा काम सुरु भइरहेको मन्त्री यादवको भनाई थियो । सुर्खेत, लुम्बीनी लगायतका क्षेत्रमा खानेपानीका ठूला आयोजनाहरु आफ्नै कार्यकालमा सुरु भएकाले धरानको खानेपानी समस्या समाधानका लागि पनि आफुले पहल चाली रु छ अर्ब रकमको टेण्डर यो वर्ष भित्र आह्वान गराउने मन्त्री यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “धरानवासीका खानेपानीका समस्यामा सरकार अनि खानेपानी मन्त्रालय गम्भीर छ । एडिबीको ऋण लगानीमा त्यहाँको खानेपानीको समस्या समाधान गर्नका लागि यो वर्ष रु छ अर्बको टेण्डर खोल्दैछौँ, ढुक्क हुनुस् धरानको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुन्छ ।”
उक्त कार्यक्रममा अध्यक्ष अशोककुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव, उपाध्यक्ष शुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव बिरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झाको सहभागि रहेको छ ।
DIPU BARNWAL