मन्त्रीहरुलाई सांसदहरुसँग समन्वय गरेर काम गर्न कांग्रेसका सभापति देउवाको निर्देशन
News Desk
Jan-28 तारिख 05:24 बिहान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरुलाई सांसदहरुसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका छन।

सोमवार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरुलाई सांसदहरुसँग आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरि खतिवडाले बताए।

उनका अनुसार बैठकमा सांसदहरुले अध्यादेश ल्याउँदा जानकारीसमेत नदीएको भन्दै मन्त्रीको कार्यक्षमतामाथि समेत प्रश्न उठाएका थिए। 

उनले मन्त्रीहरुले यसबारे जवाफ दिनुपर्ने भएकाले माघ १८ गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय भएको बताए।

उनले बैठकमा सांसदहरुले दुई ठूला दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गर्न नसके जनतामा निराशा छाउने भएकाले गम्भिर भएर अगाडि बढ्नुपर्ने धारणा राखेका बताए। 

‘सदस्यहरुले मन्त्रीहरुको कामको प्रभावकारिताको विषयमा केही कुराहरु राख्नु भएको छ। अध्यादेश आउनुअगाडि सांसदहरुसँग छलफल गरिएन‚ यो ठिक भएन भनेर केही माननीयहरुले कुराहरु राख्नुभयो। मन्त्रीहरुले जवाफ दिनका लागि फेरि माघ १८ गते विहान ८ बजे बस्नेगरी आजको बैठक स्थगित भएको छ‚’ बैठकपछि सञ्चारकर्मीसँग खतिवडाले भने, ‘विशेषगरी मन्त्रीहरुको कार्यदक्षता र क्षमता र जनताको सवालमा काम गर्नुस्, दुई ठूला पार्टी मिलेर बनेको सरकारले पनि जनताको आशाअनुसार काम गर्न सकेन भने जनतामा निराशा पैदा हुन्छ। सभापतिले मन्त्रीहरुलाई काम गर्ने वेलामा सांसदहरुसँग समन्वय गरेर अगाडि बढ्न निर्देशन दिनुभयो।’

कांग्रेसका केही नेताले सार्वजनिक रुपमै सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन।