News Desk
नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई पार्टीको जिम्मेवारी प्रदान गरेको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उनको चासोअनुसार उत्पादन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको एक नेताले जानकारी दिए।
तर, पुनले पार्टीभित्र कुन तहको पद पाउने भन्ने विषयमा अझै टुंगो लाग्न सकेको छैन। हाल उनी उपाध्यक्षको रूपमा बैठकमा सहभागी भइरहे पनि कतिपय नेताहरू उनलाई मात्र आमन्त्रित रूपमा राखिएको दाबी गर्छन्।
‘पासाङलाई उत्पादन क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ,’ ती नेताले बताए, ‘तर, उनलाई पदाधिकारी तहको हैसियत प्रदान गर्ने वा नगर्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।’
पुन पार्टी जिम्मेवारीमा फर्कनुअघि २२ महिना उपराष्ट्रपति पदबाट बाहिर थिए भने करिब नौ वर्षदेखि सक्रिय राजनीति छाडेका थिए। २०७२ साल कात्तिक १३ गते पहिलो पटक उपराष्ट्रपतिमा निर्वाचित भएका उनी दोस्रो कार्यकालमा पनि दोहोरिएका थिए। तर, २०७९ चैत ६ गते कार्यकाल समाप्त भएपछि केही समय निष्क्रिय रहे।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनको जिम्मेवारी टुंगो लगाउन सहज नभएको देखिएको छ। माओवादी विधानअनुसार २२ सदस्यीय पदाधिकारी संरचना मात्र हुन सक्ने भएकाले उनलाई उपाध्यक्षको पद दिन विधानिक चुनौती रहेको बताइन्छ।
गत पुस २१–२३ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा केही नेताहरूले उपराष्ट्रपति भइसकेको व्यक्तिले फेरि पार्टी राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने मत राखेका थिए। बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले पुनलाई आफैंले सक्रिय गराएको नभई, उनले स्वेच्छाले राजनीतिमा पुनः सक्रियता देखाएको बताएका थिए।