कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेशका सन्दर्भमा सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो : जसपा नेपाल उपाध्यक्ष
News Desk
Feb-07 , 2025 तारिख 06:38 बिहान

जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेशका सन्दर्भमा सरकारलाई सहयोग गर्न आग्रह गरेको बताएका छन।

बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग उपाध्यक्ष यादवले कांग्रेस सभापति देउवाले सहयोग गर्न अनुरोध गरेको भए पनि आफूहरुले कार्यदलको सुझावको आधारमा निर्णय लिने बताएको समेत जानकारी दिए।

अध्यादेशसम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदनको गहिरो ढंगले पार्टीले अध्ययन गरिरहेको र अध्यादेशको विषयमा संसदको अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुने बताए। 

उनले अध्यादेशबारे आज नै निष्कर्षमा पुग्ने भनेर पार्टीको बैठक बसेको भए पनि सभाको कार्यसूचीबाट अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको कारण निष्कर्षमा पुग्न नसकेको बताए। 

‘हामीले अध्यादेश अध्ययन प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका छौँ। निष्कर्षमा पुग्ने भन्ने आजको कार्यसूची थियो तर संसदको कार्यसूचीबाटै अध्यादेश पेश गर्ने कार्यसूची हटाइयो। त्यो भइसकेपछि अझै गहिरो अध्ययन गरेर अर्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने भनेर आज छलफल भएको हो‚’ उपाध्यक्ष यादवले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले हिजो राति नै फोन गरेर एकचोटि भेट्ने भनेर बोलाइसकेपछि हाम्रो पार्टी अध्यक्ष र म स्वयं भेटेका हौँ। उहाँले अध्यादेशमा सहयोग गर्नुस भन्ने कुरा राख्नुभयो। हाम्रो तर्फबाट कार्यदलले अध्ययन गर्दै छ। त्यसपछि दलको बैठक बसेर पार्टीले आधिकारिक निर्णय लिन्छ, त्यही निर्णयका आधारमा हामी अगाडि बढ्छौँ भन्ने कुरा राख्यौँ।’

सरकारले ल्याएका अध्यादेशको सम्बन्धमा अध्ययन गरि प्रतिवेदन बुझाउन जसपा नेपालले कार्यदल गठन गरेको थियो। जसपाले अध्यादेशको कन्टेन्टको आधारमा समर्थन वा विरोध गर्ने बताउँदै आएको छ।

धेरै पढिएको