गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा समाजवादी मोर्चाको जोड 
News Desk
Mar-11 , 2025 तारिख 06:28 बिहान

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत पार्टी अबद्ध ‘समाजवादी मोर्चा’ ले गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ। 

सिहंदरबारमा आज बसेको मोर्चाको बैठकले राजसंस्थाबाट मुलुक र जनताको हित हुन नसक्ने भन्दै जनतामा छाएको निराशाबाट राजसंस्थावादीले फाइदा उठाउन खोजेको ठहर गरेको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत  समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरू सहभागी बैठकले भोलि फेरि बैठक बसी पछिल्लो राजनीतिक गतिविधिबारे धारणा सार्वजनिक गर्ने जनाइएको छ। 

पूर्वप्रधानमन्त्री प्रचण्ड सरकारले गरेका गतिविधिका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको जिकिर गरे। 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजनीतिक दलहरूको लामो सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन गणतन्त्रवादीहरू सङ्गठित हुनुपर्नेमा जोड दिए। 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता गंगानारायण श्रेष्ठले देश अफ्ठ्यारो अवस्थामा धकेलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट सशक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए।

धेरै पढिएको