दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी आन्दोलन, राप्रपाको समर्थन
News Desk
Mar-27 , 2025 तारिख 07:55 बेलुका

काठमाडौं, चैत १२ – व्यवसायी दुर्गा प्रसाईंले राजावादी आन्दोलनको नेतृत्व लिँदै पूर्वपञ्चहरूलाई पछाडि पार्दै आफ्नो प्रभाव बढाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले उनको नेतृत्वलाई स्वीकार्दै आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन्।

राजसंस्थाको पुनःस्थापनाका लागि चैत ४ गते गठित संयुक्त जनआन्दोलन समिति विवादमा तानिएको थियो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सो समितिसँग दूरी कायम गर्ने घोषणा गरेका थिए, तर राप्रपाको कार्यसम्पादन समितिले पार्टीले अलग्गै आन्दोलन गर्ने निर्णय गर्दै प्रसाईंको नेतृत्वलाई अस्वीकार गरेको थिएन।

यसैबीच, प्रसाईंले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने घोषणा गरिसकेका थिए। नवराज सुवेदीले प्रसाईंको आन्दोलनलाई समर्थन गर्दै उनलाई जनआन्दोलन समितिको कमान्डर घोषित गरे। सुवेदीले जारी गरेको विज्ञप्तिमा चैत १५ बाट सुरू हुने आन्दोलनलाई समितिले अपनत्व लिएको जनाइएको छ। साथै, चैत १७ गते थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उल्लेख गरिएको छ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि पार्टी कार्यकर्ताहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्दै समान उद्देश्य भएका समूहहरूसँग सहकार्य गर्ने नीति लिने बताएका छन्।

यसैबीच, राप्रपाले पनि आफ्नै रूपमा आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ। पार्टीले चैत २६ गते काठमाडौं उपत्यकामा सभा गर्ने र वैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन सुरू गर्ने जनाएको छ। तीनकुनेमा आयोजना गर्न लागिएको सभाका लागि प्रशासनसँग अनुमति मागिएको छ।

राजसंस्था पुनःस्थापनाका लागि राजावादी समूहहरूबीच शक्ति केन्द्रित गर्ने प्रयास भइरहे पनि आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयमा स्पष्टता आउन बाँकी छ।

धेरै पढिएको