News Desk
काठमाडौं, आइतवार – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले तीनकुने घटनामा हिंसा भड्काउने मुख्य दोषी सरकार नै भएको आरोप लगाएका छन्। उनले शान्तिपूर्ण प्रदर्शनलाई सरकारले दमन गर्दै जानाजानी उग्र बनाएको र सुरक्षाकर्मीलाई आन्दोलनकारीमाथि गोली र अश्रुग्यास प्रहार गर्न लगाएको दाबी गरे।
शान्तिपूर्ण प्रदर्शनलाई दमन
आइतवार संसद भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले भने, "हामीले गरेको प्रदर्शन शान्तिपूर्ण थियो, तर सरकारले आन्दोलनलाई भड्काउने काम गर्यो। प्रहरीलाई छतमा तैनाथ गरेर गोली हान्न लगाउनु सरकारको योजना थियो।" उनले प्रदर्शनका क्रममा गोली लागेर केही प्रदर्शनकारी घाइते भएको र लामो समयसम्म आगलागी भइरहँदा सरकार मुकदर्शक बनेको आरोप लगाए।
लिङदेनले घटनाबारे निष्पक्ष छानबिन गर्नका लागि स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरेका छन्। "सरकार आफैं दोषी देखिन्छ, त्यसैले कुनै पूर्वाग्रह नराखी सत्यतथ्य सार्वजनिक गर्न न्यायिक आयोग चाहिन्छ," उनले भने।
राप्रपा आन्दोलनको तयारीमा
अध्यक्ष लिङदेनले सरकारले राप्रपाका नेताहरूमाथि दमन गरेको भन्दै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरूलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने माग गरे। "हाम्रा नेताहरू हिंसात्मक गतिविधिमा संलग्न छैनन्, तसर्थ उनीहरूलाई तुरुन्तै बिनाशर्त रिहा गर्नुपर्छ," उनले चेतावनी दिए। यदि माग पूरा नभए, राप्रपा कडा आन्दोलनमा जाने उनको भनाइ छ।
राजसंस्थामाथि हमला नगर्न चेतावनी
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिबाना तिर्न आदेश दिएको विषयमा अध्यक्ष लिङदेनले आपत्ति जनाए। "पूर्वराजालाई जरिबाना पत्र लेख्नु गम्भीर त्रुटि हो, यस्तो राजनीतिक पूर्वाग्रहले देशलाई झन् अस्थिर बनाउँछ," उनले टिप्पणी गरे।
संसद बैठकमा एक सांसदले "राजावादीहरूलाई जेल हाल्नुपर्छ" भनेको प्रसंग उल्लेख गर्दै लिङदेनले आफूलाई सबैभन्दा ठूलो राजावादी मान्ने बताए। "सक्छौ भने मलाई नै जेल हाल, म सबैभन्दा ठूलो राजावादी हुँ," उनले सांसदलाई चुनौती दिएका थिए।
सरकारले नै हिंसा भड्कायो?
तीनकुने घटनामा सरकारले हिंसा भड्काउन भूमिका खेलेको भन्दै लिङदेनले केही प्रमाणहरू प्रस्तुत गरे। उनले भने, "सादा पोशाकका सुरक्षाकर्मीले आन्दोलनकारीलाई ताकेर गोली लोड गरिरहेको दृश्य देखिन्छ। ताकि-ताकी गोली हानेको भिडियो सार्वजनिक भइसकेको छ। यस्तो हुँदा पनि सरकार दोष स्वीकार गर्न तयार छैन।"
उनले १५ गतेको घटनालाई निन्दनीय भन्दै राप्रपा त्यसबाट अलग रहेको र हिंसात्मक गतिविधिको पक्षधर नभएको स्पष्ट पारे। "हामी अहिंसात्मक आन्दोलनको पक्षमा छौँ, तर सरकार आफैं दमन गरेर परिस्थिति खराब बनाइरहेको छ," उनले आरोप लगाए।
राप्रपाले अबका दिनमा सरकारको ज्यादतीविरुद्ध देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।