‘४० वर्षसम्म एउटै राजा थिएनन्, अब कति वर्ष अध्यक्ष रहने?’– प्रचण्डलाई विप्लवको कटाक्ष
News Desk
Apr-24 , 2025 तारिख 07:04 बिहान

काठमाडौं, बैशाख ११ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै एकपटक फेरि नेतृत्व परिवर्तनको आवश्यकता उठाएका छन्।

नेकपाको ७६औँ स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले प्रचण्डलाई कटाक्ष गर्दै भने, “राजतन्त्रमै पनि एउटै राजाले ४० वर्ष शासन गरेका थिएनन्, अब पार्टी अध्यक्ष भएर कति वर्ष बस्ने?”

उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासको खडेरी भएको संकेत गर्दै, “दलीय प्रणालीकै नाममा लगातार एकै व्यक्तिले नेतृत्व सम्हालिरहनु के अर्को प्रकारको राजतन्त्र होइन र?” भन्दै असन्तुष्टि व्यक्त गरे।

विप्लवले माओवादी आन्दोलनको सुरुवाती दिनमा आफूले प्रचण्ड र डा. बाबुराम भट्टराईप्रति निष्ठा राखी जीवन अर्पण गरेको स्मरण गरे। “हामीले प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दिएको हो,” उनले भने, “परिवार गुमाउँदै, जोखिम मोलेर आन्दोलनमा होमियौं। तर, हामीलाई कहिल्यै अवसर दिइएन।”

पार्टी नेतृत्वबाट उपेक्षा भएको गुनासो गर्दै उनले थपे, “के उहाँहरूले एकपल्ट भन्नु हुँदैन– ‘अब तपाईंहरू नेतृत्व गर्नुहोस्, हामी साथ दिन्छौं?’ सधैं आफू नेतृत्वमा रहने? यो प्रवृत्ति गलत हो।”

उनले वर्तमान कम्युनिस्ट आन्दोलन जनआधारित र श्रमिक-मजदुरको भावना झल्किने कार्यशैलीमा फर्किनुपर्नेमा जोड दिए। “नेकपा जनताको माया, श्रम र सपना बोकेका नेता तथा कार्यकर्ताबाट चल्ने पार्टी हुनुपर्छ,” उनले स्पष्ट पारे।

विप्लवले सबै कम्युनिस्ट शक्ति एकजुट भई जनताको पक्षमा बोल्नुपर्ने समय आएको भन्दै व्यापक एकताको आह्वानसमेत गरे। उनका अनुसार, अब परिवर्तनको एजेण्डा केवल नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने छ।

धेरै पढिएको