News Desk
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा करिब दुई घण्टा लामो भेटवार्ता भएको छ।
उक्त भेटमा सत्ता सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्। साथै, पछिल्लो समय फैलिएको सरकार परिवर्तनको हल्ला गलत र निराधार भएको समेत नेताहरूले प्रस्ट पारेको पौडेलको भनाइ छ।
भेटवार्तामा उपप्रधानमन्त्री पौडेलसँगै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। देउवा थाइल्यान्डको बैंकक भ्रमण (वैशाख ८–१२) सकेर फर्किएपछि दुबै शीर्ष नेताबीच भएको यो पहिलो प्रत्यक्ष भेटवार्ता हो।
परराष्ट्रमन्त्री आरजु राणासहित देउवा दम्पती शुक्रबार मात्रै थाइल्यान्डबाट फर्किएका थिए। थाइल्यान्डमै रहेका बेला प्रधानमन्त्री ओलीले देउवासँग टेलिफोन संवाद गर्दै कांग्रेसले सरकार छाड्ने भन्ने हल्लाबारे जानकारी मागेका थिए। स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा देउवाले उक्त विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका थिए भने राणाले सरकारले ढल्ने खबरलाई "मनोरञ्जनको विषय" भनेर टिप्पणी गरेकी थिइन्।
यता, कांग्रेस र एमालेबीच पछिल्लो समय गभर्नर नियुक्तिको विषयमा पनि तनाव बढेको छ। साथै, शिक्षक आन्दोलन र नेविसंघले बालुवाटारमा गरेको प्रदर्शनले प्रधानमन्त्री ओली कांग्रेसप्रति आशंकित भएका छन्।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा सरकारविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिइरहेका छन्।
त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले समेत ओली सरकार ढल्ने दाबी गर्दै आएका छन्। माओवादी केन्द्रका अन्य नेताहरू पनि सरकारमा प्रवेशको तयारी भइरहेको संकेत दिने भाषणहरू गरिरहेका छन ।