नेपालमा विद्यमान राजनीतिक व्यवस्थाको परिवर्तनमा भारतको कुनै रुचि छैन​ : भट्टराई
News Desk
Apr-30 तारिख 06:12 बिहान

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा। बाबुराम भट्टराईले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रभावकारी बन्न नसकेको भन्दै अब दुई देशबीच समस्याको समाधानका लागि नयाँ उपाय अपनाउनु पर्ने आवश्यकता औंल्याएका छन।

भारत भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा। भट्टराईले नेपालमा विद्यमान राजनीतिक व्यवस्थाको परिवर्तनमा भारतको कुनै रुचि नरहेको स्पष्ट पाएको बताए। उनले भारतका उच्चस्तरीय नेताहरूसँगको भेटमा नेपालको आन्तरिक व्यवस्थामा हस्तक्षेप नगर्ने भारतको धारणा आफूले बुझ्न पाएको जनाए।

उनका अनुसार नेपाल–भारत सम्बन्धमा रहेका समस्यालाई संवाद र वार्तामार्फत समाधान गर्नु नै उपयुक्त विकल्प हो। उनले भने, “ईपीजीले समाधान दिन नसकेको स्थितिमा अब प्रधानमन्त्री स्तरमै वार्ता हुने नयाँ ढंगको पहल आवश्यक छ। बाँकी रहेका विषयहरू — खुला सिमाना, आर्थिक सम्बन्ध, र आपसी विश्वासका कुराहरू — संयम र समझदारीपूर्वक समाधान गर्न सकिन्छ।”

भट्टराईले भारतमा नागरिक तहमा केही चासो देखिए पनि भारत सरकार र प्रमुख शक्तिहरू नेपालमा विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने सोचमा नरहेको दाबी गरे। उनले भने, “केही आन्दोलन र गतिविधिहरूप्रति भारतमा चासो रहे पनि, त्यसलाई व्यवस्थाविरोधी भनेर बुझ्ने ठाउँ छैन। भारतको आधिकारिक दृष्टिकोण प्रतिगामी शक्तिहरूलाई समर्थन गर्ने होइन भन्ने सन्देश मैले पाएँ।”

उनले नेपालभित्र प्रतिगामी शक्तिहरूले अनावश्यक भ्रम सिर्जना गरेर राजनीतिक वातावरण बिगार्न खोजेको आरोप लगाए। भारतको धारणा प्रस्ट हुनु सन्तोषको कुरा भएको बताउँदै उनले लोकतान्त्रिक व्यवस्था जोगाउन आत्मबल बलियो बनाउनु पर्ने बताए।

“कागले कान लज्ञ्ो भन्दै कागको पछि दौडिने अवस्था होइन,” उनले उदाहरण दिँदै भने, “छिमेकीहरूसँग सन्तुलित र सम्मानजनक सम्बन्ध कायम गर्दै अघि बढ्ने हो भने हामीले मुलुकको राजनीतिक स्थायित्व र समृद्धिको दिशामा विश्वासपूर्वक कदम चाल्न सक्छौं।”

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउँदै, सकारात्मक सोच र जनविश्वासको बलमा अगाडि बढ्नु नै राष्ट्रका लागि दीर्घकालीन हित हुने स्पष्ट पारे।