थाइल्यान्डविरुद्धको खेलका लागि नेपाली महिला फुटबल टोली सार्वजनिक
News Desk
May-24 , 2025 तारिख 06:22 बिहान

थाइल्यान्डविरुद्ध खेलिने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय अन्तिम टोली छान्नु भएको हो।

गोलकिपरको रूपमा एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर र उषा नाथले टिम सम्हाल्नेछन्।
डिफेन्स लाइनमा अमृता जैशी, गीता राना, विमला विके, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दमाई रहेका छन्।
मिडफिल्डमा अनुभवी अनिता बस्नेत र रेणुका नगरकोटीसँगै विमला चौधरी, प्रिती राई, सरु लिम्बू, सविता राना मगर, सरस्वती हमाल र सुषमा तामाङको समावेश गरिएको छ।
फरवार्डमा विदेशी लिगमा खेलिरहेकी सावित्रा भण्डारीसहित रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन्।

नेपालले आगामी जेठ १६ र १९ गते थाइल्यान्डको राजधानी बैंककमा दुई खेल खेल्नेछ। पहिलो खेल अभ्यासमै सीमित रहनेछ भने दोस्रो खेल फिफा मैत्रीपूर्ण खेलको मान्यता प्राप्त खेल हुनेछ।

नेपालले यो सिरिजलाई आगामी असार १५ गतेदेखि सुरु हुने एएफसी महिला एसियन कप छनोटको तयारीको रूपमा लिएको हो। टोली हाल मैत्रीपूर्ण खेलमार्फत अन्तिम तयारीमा जुटेको छ।

धेरै पढिएको