News Desk
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजावादीप्रति लक्षित इँटको जवाफ पत्थरले दिन आदेश दिएका छन।
योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आदेश दिएका हुन। राजावादीप्रति कटाक्ष गर्दै अध्यक्ष दाहालले आफूहरू कसैलाई पनि आक्रमण गर्न नजाने र शान्तिपूर्ण आन्दोलन गर्ने बताए।
उनले माओवादीमाथि कोही जाइलाग्छ भने त्यसलाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिँदै केही परे आफूहरू साथमा रहेको जवाफ दिए। जरुरी परेको खण्डमा जस्तोसुकै विद्रोह पनि गर्न सकिने अध्यक्ष दाहालको चेतावनी थियो। माओवादीले चलाएको अभियान आवश्यक परेका वेला अर्को क्रान्तिको तयारी भएको जिकिर गरे। अध्यक्ष दाहालले आउने दिनमा क्रान्ति गरेर वा निर्वाचनबाट नेपाल माओवादीले लिनैपर्ने नत्र बर्बाद हुने बताए।
अध्यक्ष दाहालले भने, ‘हामीमाथि जाइलाग्न खोजे भने त्यसको इँटको जवाफ पत्थरले भन्ने कुरा गर्नुस। हामी छौँ। हामी अहिले जुन अभियान चलाएका छौँ त्यो जरुरी पर्यो भने अर्को क्रान्तिको तयारी हो। अर्को समाजवादी क्रान्तिको तयारी हो।’
अध्यक्ष दाहालले गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रकै जिम्मेवारी रहेको बताए।