हिरासतमा रहेका नेता रिहा भइसकेपछि राजावादीको बन्द कार्यक्रम स्थगित
News Desk
Jun-02 , 2025 तारिख 06:53 बिहान

राजसंस्था पुनःस्थापनाका पक्षधरको उपत्यका बन्द कार्यक्रम स्थगित, हिरासतमा रहेका सबै रिहा भएपछि निर्णय

काठमाडौं, जेठ १९ | नवराज सुवेदीको नेतृत्वमा रहेको ‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आजका लागि घोषणा गरेको काठमाडौं उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।

समितिले सोमबार बिहान दोस्रो विज्ञप्ति जारी गर्दै आइतबारको प्रदर्शनपछिको घटनाक्रममा हिरासतमा रहेका सबै कार्यकर्ता रिहा भइसकेको जानकारी दिँदै बन्द कार्यक्रम स्थगित गरिएको बताएको हो। 

विज्ञप्तिमा उल्लेख छ, “जेठ १८ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका सबै साथीहरू रिहा भइसकेकाले परिस्थितिलाई ध्यानमा राख्दै उपत्यका बन्दको कार्यक्रम फिर्ता गरिएको छ।”

यसअघि, आइतबार साँझ समितिले प्रहरीद्वारा प्रदर्शनकारीहरूमाथि दमन गरिएको भन्दै उपत्यका बन्दको घोषणा गरेको थियो।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र अतिक्रमण गरेको आरोपमा राप्रपा नेपाल अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत सात जना नेता–कार्यकर्ता पक्राउ परेका थिए। तर आइतबार साँझ उनीहरू रिहा भएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आजको उपत्यका बन्दमा आफ्नो पार्टी सहभागी नहुने घोषणा गरेका थिए।

राप्रपाको यस घोषणापछि सुवेदी संयोजकत्वको समितिले पनि संवेदनशील अवस्था तथा सहकार्यका सन्दर्भलाई ध्यानमा राख्दै बन्दको निर्णय फिर्ता गरेको जनाएको हो।

राजसंस्थाको पुनःस्थापनाको मागसहित आन्दोलनरत विभिन्न समूहहरूबीच सहमति र समन्वयमा भइरहेको कार्यक्रमहरू यसरी बीचमै रोकिनु यसपटक पनि सम्भावित सशक्त प्रदर्शनलाई सहजै स्थगनतर्फ मोडिएको छ।

धेरै पढिएको