एमाले पोलिटब्युरो बैठकमा ‘विधान संशोधन’को विषयमा तीव्र बहस, कर्ण थापाले गरे पुनर्विचारको माग
News Desk
Jul-19 , 2025 तारिख 06:26 बिहान

काठमाडौं, साउन ३ |नेकपा एमालेको विधान संशोधनको प्रस्तावले पार्टीभित्र बहस चुलिएको छ। शुक्रबार बसेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य कर्ण थापाले ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा हटाउने निर्णयको पुनर्विचार गर्न माग गरेका छन्। उनले यो निर्णय विधानकै मर्म विपरीत भएको भन्दै कडा आपत्ति जनाए।

बैठकमा उपाध्यक्ष विष्णु पौडेलले संशोधन प्रस्ताव प्रस्तुत गर्दा धारणा राख्ने क्रममा थापाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष तिखो प्रश्नोत्तर गरेका थिए। 'विधानको छाप एउटा, गुदी अर्कै हुनु मिल्छ?' भन्दै थापाले तीनवटा विधान देखाएर आलोचना गरेका थिए। एक नेताका अनुसार, थापाले कडा लहजामा भने, "यदि मैले गल्ती बोलेको छु भने, मलाई सदस्यताबाट हटाइदिनुस्।"

थापाको प्रतिप्रश्नले ओली झन् असहज बनेको बताइएको छ। उनले भनेका थिए, "विधानको कन्टेन्ट यथास्थानमै छ, तपाईँले बाहिर भन्नुपर्ने कुरा किन उठाउनुभयो?" तर थापाले थप प्रष्ट पारे, "बाहिर भन्नुपर्ने अवस्था आयो, किनभने पार्टी नेतृत्वले विधानलाई लुकाउने र जनतालाई धोका दिने काम गरिरहेको छ।"

बैठकमा थापा बाहेक भीम आचार्य, किरण गुरुङ, लालबाबु पण्डित, डा. राजन भट्टराई, खगराज अधिकारी, शेरधर राई लगायत ६ नेताले धारणा राखेका थिए। जनसम्पर्क समन्वय इन्चार्ज भानुभक्त ढकालका अनुसार, एकजनालाई पाँच मिनेटको बोल्ने समय दिइएको थियो।

पार्टीका अर्का नेता विशाल भट्टराईले भने उमेरहद र कार्यकाल सीमा हटाउने प्रस्तावबारे बैठकमा शुक्रबार विशेष चर्चा नभएको बताए। तर, स्थायी कमिटी सदस्य खगराज अधिकारीले भने विधान कार्यान्वयनको सन्दर्भमा विगतमा कमजोरी भएको स्वीकार गर्दै अब कडाईका साथ पालना गर्नुपर्ने धारणा राखे।

त्यस्तै, किरण गुरुङले दुई किसिमको सदस्यता प्रस्ताव आवश्यक नरहेको भन्दै एउटै ढाँचाको सदस्यता कायम गर्न सुझाव दिए। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आत्मलोचना गर्दै विभागीय कमजोरी स्वीकार्ने प्रयास गर्दा महासचिव शंकर पोखरेलले बीचमै रोकेको स्रोतले बतायो।

यसअघि बिहीबार राति बसेको सचिवालय बैठकमै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पनि अध्यक्ष ओलीको भनाभन भएको थियो। पार्टीभित्र गहिरिँदै गएको मतभेद अब पोलिटब्युरो तहसम्म देखिन थालेको छ। शनिबारको बैठकमा उमेरहद र कार्यकाल सीमाको विषय थप गम्भीर रूपमा उठ्ने सम्भावना छ।

 

धेरै पढिएको