News Desk
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेका नोटसम्बन्धी विषयमा अनुमान र हल्ला होइन, निष्पक्ष छानबिनमार्फत मात्रै सत्य बाहिर आउन सक्ने बताएका छन्। सोमबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारसँग कुरा गर्दै उनले सम्पत्ति शुद्धीकरण विभागलगायत राज्यका निकायहरू यसबारे अनुसन्धान गरिरहेको उल्लेख गर्दै त्यसैको परिणामलाई स्वीकार गर्नुपर्ने स्पष्ट पारे।
शर्माले हालै पार्टीका जिल्ला सभापतिहरूले उठाएको प्रश्नलाई स्मरण गर्दै यस विषयमा स्पष्टीकरण दिने जिम्मेवारी सभापति पक्षकै हुने बताए। “अनुमानले होइन, अनुसन्धानले मात्र सत्य प्रस्ट हुन्छ,” उनले जोड दिए।
देउवा निवासमा जलेका नोट भेटिएको विषय चर्चामा आए पनि कांग्रेस महामन्त्री शर्माले हल्ला र विवादभन्दा छानबिनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। यसअघि सार्वजनिक भएका तस्बिर र भिडियोको प्रामाणिकताबारे समेत विभिन्न चर्चा भए पनि उनले सत्य तथ्यलाई केवल अनुसन्धानले नै पुष्टि गर्ने धारणा व्यक्त गरे।
सभापति देउवाको स्वास्थ्य लाभ हुँदै गएको बेला शुभकामना दिनु जरुरी रहेको बताउँदै उनले पार्टीलाई पनि समान रूपमा “स्वस्थ” बनाउनुपर्नेमा जोड दिए। हालको संकटलाई अवसरमा बदल्दै कांग्रेसलाई सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।
जेन–जेड आन्दोलनपश्चात् पार्टीभित्र उठेको नेतृत्वसम्बन्धी बहसबारे उनले आगामी मंसिरभित्र महाधिवेशन गर्ने तयारी आवश्यक रहेको स्पष्ट गरे। यद्यपि तत्कालै महाधिवेशनमा नजानुपर्ने मत पनि पार्टीभित्र रहेको स्वीकार गर्दै उनले साझा धारणा केन्द्रीय समितिबाट बन्ने बताए।
कोइराला निवासमै उभिएर शर्माले कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी नयाँ शैलीमा आउनेछौं, मुलुकलाई सम्भावनातिर डोहोर्याउनेछौं, र परिस्थितिलाई सम्हाल्दै देशलाई नयाँ दिशातिर लैजाने संकल्प लिएका छौं।”
उनले जेन–जेड आन्दोलनका क्रममा अराजक समूहले गरेको तोडफोड र आगजनीले पार्टी र देश दुवैलाई ठूलो क्षति पुर्याएको स्मरण गर्दै अब परिस्थिति नियन्त्रणमा ल्याउँदै पार्टीलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए।