एमाले नेतृत्व ओलीले नछाड्ने
News Desk
Oct-09 , 2025 तारिख 06:07 बिहान

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व तत्काल नछाड्ने स्पष्ट संकेत दिएका छन्।

 पहिलो पटक प्रदेश र जिल्ला अध्यक्षहरूसँगको बैठकमा ओलीले हालको परिस्थितिमा नेतृत्व परिवर्तन आवश्यक नभएको प्रस्ट पारे। बैठकमा सहभागी नेताहरूका अनुसार जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमबारे प्रदेश र जिल्ला तहका नेताहरूले गम्भीर प्रश्न उठाउँदै पार्टीलाई पुनर्गठन गर्नुपर्ने सुझाव दिएका थिए।

तर, ओलीले अहिले नेतृत्व बदल्ने समय नभएको बताउँदै पार्टीलाई एकताबद्ध र सशक्त बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले, “पार्टी र नेतृत्वको हितका लागि सक्दो प्रयास गर्दै अघि बढ्छु,” भन्ने अठोट व्यक्त गरेको सहभागी नेताहरूले जानकारी दिए।

बैठकमा ओलीले जेनजी आन्दोलनमा विदेशी हस्तक्षेप र अन्य शक्तिहरूको प्रभाव रहेको दाबीसमेत गरे। साथै, संसद् भंगपछि बनेको अन्तरिम सरकारका कदमलाई असंवैधानिक भन्दै अदालतमा जाने तयारीको संकेतसमेत गरेका छन्।

उनका अनुसार, अहिले नेतृत्वको प्रश्न उठाउने होइन, बरु पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउँदै राष्ट्रिय राजनीतिक स्थिरता र जनचाहनाअनुसार अघि बढाउनुपर्ने समय आएको छ।

Related Post