१५औं महाधिवेशनपछि नयाँ नेतृत्वले काँग्रेसको जिम्मेवारी लिनेछ :देउवा
News Desk
Oct-15 , 2025 तारिख 07:03 बिहान

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औं महाधिवेशनपछि आफूले सभापतिको जिम्मेवारीबाट अवकाश लिने स्पष्ट घोषणा गरेका छन्। उनले अब पार्टीमा नयाँ नेतृत्व आउनु समयको माग भएको बताएका छन्।

मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले पार्टीको भावी दिशा नयाँ पुस्ताको हातमा जाने विश्वास व्यक्त गरे। उनका अनुसार, “घरमा सधैं एउटै मूली रहँदैन, पार्टीमा पनि सधैं एउटै सभापति रहँदैन। म आगामी महाधिवेशनपछि पार्टी नेतृत्व विधिवत् हस्तान्तरण गर्छु भन्ने निर्णयमा अडिग छु।”

देउवाले बैठकमा लेखित सम्बोधनमार्फत आफ्नो राजनीतिक यात्राको उत्तरार्द्धमा संस्थागत एकता र लोकतान्त्रिक मूल्यको संरक्षण नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। उनले भने, “राष्ट्र, लोकतन्त्र र शासन प्रणाली अहिले गम्भीर संकटमा छन्। यस्तो बेला पार्टीभित्र एकता र अनुशासन अत्यावश्यक छ।”

उनका अनुसार कांग्रेसको विधानअनुसार तोकिएको समयमा नै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय गर्नेछ।

देउवाको यो अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको संकेत दिएको छ, जसले पार्टीको भविष्यका सम्भावित नेतृत्वहरूबीच नयाँ प्रतिस्पर्धाको सुरुवात हुने देखिएको छ।

धेरै पढिएको