News Desk
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि व्यक्तिगत दुश्मनी राखेको गम्भीर आरोप लगाएका छन्। बुधवार जेन–जी आन्दोलनका क्रममा बालकोटस्थित आफ्नै निवासमा भएको आगजनी, तोडफोड र लुटपाटको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरे।
ओलीले भने, “आन्दोलनका नाममा आपराधिक गतिविधि गर्नेहरू यहीं आसपासका थिए, तर सरकारले कारबाही गर्न इच्छुक छैन। बरु पक्राउ परेकाहरूलाई पनि छोडिरहेको छ।” उनका अनुसार, सरकारले अपराधीलाई उन्मुक्ति दिँदै अर्को देशमा अर्को आन्दोलनको बीउ रोप्ने काम गरिरहेको छ।
उनले सरकारको ध्यान सुशासन र भ्रष्टाचार नियन्त्रणभन्दा पनि प्रतिशोधमा केन्द्रित भएको आरोप लगाए। ओलीका शब्दमा, “गृहमन्त्रीले टेलिभिजनमा दिएको अन्तर्वार्तामा पीडितप्रति दुश्मनी झल्किएको छ। मलाई त उहाँसँग व्यक्तिगत वैरभाव नै छ जस्तो लाग्छ।”
उनले आशंका व्यक्त गर्दै भने, “जेन–जी आन्दोलनका केही अगुवामार्फत ममाथि दबाब सिर्जना गरेर मलाई र मेरा सहकर्मीहरूलाई पक्राउ गर्ने तयारी भइरहेको छ।”
ओलीले सरकारलाई अपराधीलाई कारबाही गर्न र आन्दोलनका नाममा हिंसा दोहोरिन नदिन चेतावनी पनि दिएका छन्।