News Desk
नेकपा एकीकृत समाजवादीभित्र पार्टी एकताको विषयमा गम्भीर मतभेद सतहमा आएको छ। डेढ दर्जनभन्दा बढी नेताहरूले माओवादी केन्द्रसँगको एकता प्रक्रियाप्रति असहमति जनाएका छन्। असन्तुष्ट पक्षले केन्द्रीय कमिटीमा ८८ जना सदस्य मनोनयन गरी जबर्जस्ती बहुमत देखाइएको आरोप लगाएका छन्। अध्यक्ष माधवकुमार नेपालसहित बहुमत सदस्यहरू एकताका पक्षमा उभिँदा, पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका नेताहरू भने त्यसको विरोधमा छन्।
खनाल पक्षका नेताहरूले एमाले र अन्य वाम घटकहरूसँग पनि सहकार्यको पहल गर्नुपर्ने तर्क अघि सारेका छन्। उनीहरूका अनुसार माओवादी केन्द्रसँगको एकता हतारमा गर्नु बुद्धिमानी हुँदैन। यसैबीच नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि विभाजनको चपेटामा परेको छ। दल दर्ता प्रक्रिया अघि बढाएपछि चिरन पुन समूहले छुट्टै भेला बोलाउँदै माओवादी केन्द्रसँग एकतामा जाने घोषणा गरेको छ।