समानुपातिक बन्दसूचीप्रति रक्षा बमले पोखिन असन्तुष्टि
News Desk
Dec-31 , 2025 तारिख 06:45 बिहान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा हालै खुलेर सक्रिय भएकी –जेन जीअगुवा रक्षा बमले पार्टीको समानुपातिक बन्दसूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले समानुपातिक सूची सार्वजनिक भएपछि आफू निराश भएको उल्लेख गरेकी हुन्।

रास्वपाले निर्वाचन आयोगमा दर्ता गराएको बन्दसूचीमा सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार समेटिएको र सुदूरपश्चिमबाट भने दुई जनामात्रै समावेश गरिएको विषयप्रति उनले प्रश्न उठाएकी छन्।

उनका अनुसार नेपालको संविधानले सदियौँदेखि पछाडि पारिएका समुदाय र क्षेत्रका आवाजलाई प्रतिनिधित्व गराउने उद्देश्यले समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको हो। निश्चित वर्गको प्रभुत्व अन्त्य गर्दै असमान शक्ति संरचनाका कारण अवसरबाट वञ्चित समुदायलाई मूलधारमा ल्याउने लक्ष्यसहित यो प्रणाली लागू गरिएको उनले स्मरण गराएकी छन्।

तर, उनले दुख व्यक्त गर्दै लेखेकी छन् कि ऐतिहासिक बलिदानबाट प्राप्त भएको समानुपातिक प्रणालीलाई आज राजनीतिक दलहरूले सांसद पद “बिक्री केन्द्र” जस्तो बनाइरहेका छन्। आफ्ना नातागोता र नजिकका व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको भन्दै उनले अहिले सार्वजनिक भएका दलहरूको समानुपातिक सूचीले आफूलाई गहिरो रूपमा खिन्न बनाएको उल्लेख गरेकी छन्।

धेरै पढिएको