संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच आरोप प्रत्यारोपको अवस्था सिर्जना
News Desk
Jan-02 तारिख 06:35 बिहान

सभापति शेरबहादुर देउवाको सहमति नलिई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिएको छ। महामन्त्रीद्वयको नेतृत्वमा बसेको बैठकले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णय गरेसँगै पार्टीभित्रको शक्ति संघर्ष खुला रूपमा सतहमा आएको हो।

यसैबीच, कांग्रेसले यसअघि पुस २६ गते गर्ने तय गरेको १५ औँ नियमित महाधिवेशन न त औपचारिक रूपमा अघि बढेको छ, न त स्थगित गरिएको कुनै स्पष्ट निर्णय नै आएको छ। यसले संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच आरोप प्रत्यारोपको अवस्था सिर्जना गरेको छ।

बिहीबार महाराजगञ्जमा बसेको महामन्त्री थापा, शर्मा र उनी पक्षधर नेताहरूको बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नियमित महाधिवेशन स्थगित गरिएको उल्लेख गरिएको छ। तोकिएको समयसम्म प्रक्रिया अघि नबढेपछि बाध्य भएर विशेष महाधिवेशनतर्फ जानुपरेको उनीहरूको दाबी छ।

यसै दिन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा १५ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

पार्टी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन गर्न सकिने व्यवस्था रहेको जनाउँदै थापा पक्षधरहरूले भृकुटीमण्डपको हलसमेत बुक गरिसकेका छन्। यसअघि विशेष महाधिवेशनको माग गर्दै पार्टीको कुल सदस्य संख्याको ५४ प्रतिशतले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।

केन्द्रीय समितिले पुस २६ गतेदेखि १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रिया सम्पन्न नहुँदा उक्त कार्यतालिका कार्यान्वयनमा आउन सकेन। कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशनसमेत हुन नसक्दा अन्योल झन् बढेको छ।

यता संस्थापन पक्ष भने निर्वाचनको मुखमा विशेष महाधिवेशन सम्भव नरहेको अडानमा छ। उनीहरूले महामन्त्री थापालगायत नेताहरूले पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरी आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका छन्। यसको प्रतिवादमा महामन्त्री पक्षले महाधिवेशन टार्नकै लागि आफूहरूमाथि दोष थोपर्ने प्रयास भइरहेको दाबी गरेको छ।

सभापति देउवाले चुनावअघि कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने स्पष्ट धारणा राख्दै आएका छन्। यद्यपि महामन्त्री थापाले विशेष महाधिवेशनको मागमा हस्ताक्षर गर्ने नेता–कार्यकर्तालाई काठमाडौं आउन जानकारी गराइसकेका छन्।

अन्तिम प्रयासस्वरूप महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवासँग छलफल गर्ने र महाधिवेशन उद्घाटनका लागि निम्तो दिने निर्णय भएको छ। महामन्त्री थापा भने प्रतिवेदन लेखनका लागि धुलिखेल गइसकेका छन्। उता नेता शेखर कोइराला पक्षले विशेष महाधिवेशनले पार्टी विभाजनको खतरा बढाउन सक्ने चेतावनी दिँदै आएको छ।

विशेष महाधिवेशन पक्षधर समूहले आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्दैछ भने महामन्त्रीहरूको छुट्टै पत्रकार सम्मेलन भोलि हुने जनाइएको छ। यी घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको विवाद निर्णायक चरणमा पुगेको विश्लेषण गरिएको छ।

Related Post