बालेन निकट समूहबाट २६ जना व्यक्ति रास्वपाको केन्द्रीय समितिमा समेटिए
News Desk
Jan-05 तारिख 06:49 बिहान

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निकट समूहबाट २६ जना व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा समेटिएका छन्। पार्टी स्रोतका अनुसार नयाँ केन्द्रीय समितिमा समावेश हुनेहरूमा सामाजिक अभियन्ता, युवा नेता तथा स्वतन्त्र राजनीतिक पहिचान बनाएका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

केन्द्रीय समितिमा समेटिएकामध्ये खगेन्द्र सुनार र सागर ढकाल विशेष रूपमा चर्चामा रहेका नाम हुन्। खगेन्द्र सुनार काठमाडौँ उपत्यकामा दलित अधिकारका पक्षमा ‘दलितलाई खैँ’ अभियान सञ्चालन गर्दै सामाजिक विभेदविरुद्ध सशक्त आवाज उठाएर चर्चामा आएका अभियन्ता हुन्। उनले शरीरभरि नेल गाडेर गरेको प्रतीकात्मक प्रदर्शनले सामाजिक सञ्जालदेखि राष्ट्रिय बहससम्म व्यापक ध्यान खिचेको थियो।

यसैगरी, सागर ढकाल डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएपछि राष्ट्रिय स्तरमा चिनिएका युवा नेता हुन्। परम्परागत राजनीतिक शक्तिको चुनौतीका रूपमा देखिएका ढकालको उम्मेदवारीले युवामाझ नयाँ राजनीतिक चेतना र बहस सिर्जना गरेको थियो।

रास्वपाले बालेन शाह समूहबाट आएका यी २६ जनालाई केन्द्रीय समितिमा समेट्नु पार्टीको संगठन विस्तार र वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने प्रयासका रूपमा हेरिएको छ। पार्टी नेतृत्वले विभिन्न क्षेत्रबाट आएका सक्रिय, जनाधार भएका र परिवर्तनमुखी सोच राख्ने व्यक्तिहरूलाई नेतृत्व तहमा ल्याउने नीति अनुसार नै उनीहरूलाई समावेश गरिएको जनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस कदमले रास्वपाभित्र स्वतन्त्र र वैकल्पिक धारको प्रभाव बढाउने मात्र होइन, शहरी मतदाता र युवामाझ पार्टीको आकर्षण अझ विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

आइतबार रास्वपाको पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले २६ जनालाई मनोनित गरेको हो। यसरी मनोनित भएका केन्द्रीय सदस्यहरूले शपथ समेत लिएका छन्।

मनोनित भएका सदस्यहरूमध्ये बालेन शाह वरिष्ठ नेता भएका छन्। महामन्त्रीमा सुनिल लम्साल भएका छन्।

त्यस्तै, भुपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल सचिवालय सदस्य भएका छन्।

त्यसैगरी केन्द्रीय सदस्यहरूमा लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी वरदेवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद छन्।

धेरै पढिएको