रास्वपाको उपसभापति बनेको दाबीलाई घिसिङले ग​रे अस्वीकार 
News Desk
Jan-07 तारिख 06:00 बिहान

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न भएको आरोप लगाउँदै राजीनामाको संकेत गर्नुभएको बेला, उता भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्री कुलमान घिसिङले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेको दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ।

मंगलबार आयोजित एक कार्यक्रममा सहभागीले नागरिक सरकारका मन्त्री भएर कसरी पार्टीगत गतिविधिमा संलग्न हुनुहुन्छ भन्ने प्रश्न उठाएपछि मन्त्री घिसिङले आफू कुनै पनि राजनीतिक दलको सदस्य नै नरहेको स्पष्ट पार्नुभएको हो। यसअघि प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा सरकारमा रहँदै चुनावी तयारी र दलगत गतिविधिमा संलग्न हुनु गलत भएको टिप्पणी गर्दै त्यस्ता गतिविधिमा लागेका मन्त्रीहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको थियो। यो भनाइ मुख्य रूपमा भौतिक पूर्वाधार मन्त्रीसमेत रहनुभएका कुलमान घिसिङप्रति लक्षित रहेको बताइएको छ।

केही दिनअघि उज्यालो नेपाल पार्टीका संरक्षक रहेका घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सात बुँदे सहमति गर्दै उपसभापति पदमा रहने सहमति भएको सार्वजनिक भएको थियो। त्यसअघि उहाँ स्वयं उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा सहभागी भई वैकल्पिक राजनीतिको नेतृत्व गर्ने घोषणा गर्नुभएको थियो।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा सरकारी स्रोत र साधन प्रयोग गरी दलगत वा चुनावी गतिविधिमा सहभागी हुन नपाइने स्पष्ट चेतावनी दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘सरकारमा बसेर सत्ताको दुरुपयोग गर्न पाइँदैन, आवश्यक परे राजीनामा दिनुपर्छ,’ प्रधानमन्त्रीको स्पष्ट भनाइ रहेको सचिवालयको दाबी छ।

सचिवालयका अनुसार प्रधानमन्त्रीले बैठकमा कुनै मन्त्रीको नाम नलिइ उक्त कुरा उठाउनुभएको थियो। बैठकपछि प्रधानमन्त्रीले मन्त्री घिसिङ, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तासँग छुट्टै छलफल गर्दै सरकारलाई सहज बनाइदिन आग्रह गर्नुभएको जानकारी एक मन्त्रीले कान्तिपुर समाचारलाई दिएका छन्।

यद्यपि मन्त्री घिसिङले भने मंगलबार पुनः आफू कुनै पनि दलको सदस्य नरहेको दाबी दोहोर्याउनुभएको छ। रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको वार्तामा घिसिङ र खेलकुदमन्त्री गुप्ता सहभागी रहेको र घिसिङलाई उपसभापति बनाउने सहमति भएको कुरा रास्वपाले सार्वजनिक गरिसकेको छ।

यसअघि सञ्चारमन्त्री खरेलले रास्वपा र बालेन्द्र शाहबीच भएको सात बुँदे सहमतिको स्वागत गर्नुभएको थियो। त्यसपछि कुलमान घिसिङसहित तीन मन्त्रीको भूमिकाबारे नागरिक तहबाट प्रश्न उठ्न थालेका थिए। तर सञ्चारमन्त्री खरेलले सरकारमा रहेका मन्त्रीहरू राजनीतिक दलमा आबद्ध भएको विषयमा सरकारलाई औपचारिक जानकारी नआएको स्पष्ट पार्नुभएको थियो।

धेरै पढिएको