कांग्रेसभित्र विशेष महाधिवेशन विवाद चर्कियो, पार्टी एकतामाथि प्रश्न
News Desk
Jan-08 तारिख 06:38 बिहान

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अहिले निर्णायक मोडमा पुगेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीभित्र टकराव झनै चर्किएको हो। संस्थापन पक्षले भने उक्त विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गर्दै आएको छ।

महामन्त्री पक्षले पार्टी विधानअनुसारको प्रक्रिया भन्दै विशेष महाधिवेशनको नारा र तयारीसमेत अघि बढाइसकेको छ। तर संस्थापन पक्ष विधानमा उल्लेखित बाध्यकारी व्यवस्थालाई स्वीकार्न तयार देखिँदैन। उता, विशेष महाधिवेशनको पक्षमा उभिएका महामन्त्रीहरू पनि पार्टी नेतृत्वको बहुमतको निर्णय मान्न इच्छुक छैनन्।

पार्टीभित्र कतिपय नेताहरूले विवादले पार्टी विभाजन नहुने दाबी गरे पनि अवस्था यति तातिएको छ कि कांग्रेसको एकता जोगिन्छ कि जोगिँदैन भन्ने आशंका बढ्दै गएको छ। नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर दुवैले पार्टी नफुट्ने भनाइ दोहोर्याइरहेका छन्, तर व्यवहारमा टकराव दिनप्रतिदिन तीव्र बन्दै गएको छ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको दाबी गरिएको छ। पार्टी विधानको धारा १७ अनुसार केन्द्रीय समितिले चाहे वा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। तर पार्टी नेतृत्वले यसलाई कार्यान्वयन नगरी बहुमतको आधारमा वैशाखमै नियमित महाधिवेशनको कार्यतालिका पारित गर्दै विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाइरहेको छ।

५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर प्रमाणित गर्ने, वा संवाद र वार्तामार्फत समाधान खोज्ने कुनै ठोस प्रयास नेतृत्वबाट भएको छैन। विशेष महाधिवेशन पक्षधरहरूले भने लगातार पत्रकार सम्मेलन गर्दै दबाब बढाइरहेका छन्। यही सातामात्रै तीन पटक पत्रकार सम्मेलन गरेर विधानअनुसार माग सम्बोधन गर्नुपर्ने अडान दोहोर्याएका छन्।

महामन्त्री पक्षले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई काठमाडौं बोलाइसकेको छ। भृकुटीमण्डपमा महाधिवेशन गर्ने तयारीस्वरूप १८ वटा उपसमिति गठन गरिएको छ भने होटल बुकिङदेखि प्राविधिक तयारीसमेत अगाडि बढाइएको छ। यस सम्पूर्ण तयारीको अगुवाइ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरिरहेका छन्।

यतिखेर कांग्रेसमा दुई फरक महाधिवेशन कार्यतालिका सार्वजनिक छन्। केन्द्रीय कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ भने महामन्त्रीहरूले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।

दुवै पक्ष समाधानतर्फ भन्दा पनि शक्ति प्रदर्शन र दबाबको रणनीतिमा देखिएका छन्। संस्थापन पक्ष बहुमतको बलमा अघि बढ्न खोजिरहेको छ भने महामन्त्री समूह आन्तरिक र सार्वजनिक दबाब सिर्जना गर्न सक्रिय छ। संकल्प सम्मेलन वा नीति महाधिवेशनका रूपमा समाधान खोज्ने विषयमा छलफल भए पनि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट ठोस चासो देखिएको छैन।

अन्य राजनीतिक दलहरू चुनावी अभियानमा व्यस्त रहँदा कांग्रेसभित्रको यो आन्तरिक किचलो भने झनै चर्किँदै गएको छ। राष्ट्रिय सभामा विभिन्न दलसँग सहकार्य गर्न तयार देखिएको कांग्रेस आफ्नै आन्तरिक एकतामा भने कमजोर बन्दै गएको छ। यसले फागुन २१ गते हुने चुनावको तयारीमा असर पार्ने मात्र होइन, पार्टीको समग्र एकतामाथि नै गम्भीर संकट पैदा गरेको छ।

Related Post